संविधानलाई सुदृढ गर्न सबै दल मिल्नुपर्छ : प्रचण्ड

काठमाडौं नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अब क्रमभंग गर्ने पालो गगन थापा र रवि लामिछानेको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले आफूलाई भने क्रमभंग गर्न अलिक गाह्रो भइसकेको बताए।
दाहालले विगतमा आफूले धेरैपटक क्रमभंग गरेको भन्दै अब गगन र रविले क्रमभंग गर्नुपर्ने बताए। ‘पहिला मैले धेरै क्रमभंग गर्थें। अहिले गगनजीले क्रमभंग गर्नुभएको छ। सायद मलाई क्रमभंग गर्न गाह्रो गाह्रो भयो कि, अब पालो गगनजीको, अब पालो रविजीको,’ उनले भने, ‘तपाईंहरूले क्रमभंग गर्नुस्।’
उनले रवि लामिछाने आफ्नो मन्त्रिपरिषद्का गृहमन्त्री र गगन थापा स्वास्थ्य मन्त्री रहेको स्मरण गर्दै कांग्रेसलाई अझ उचाइमा लैजान आग्रह गरे।
‘रविजी मेरो क्याबिनेटको गृहमन्त्री र गगनजी स्वास्थ्य मन्त्री। अरू थुप्रै मन्त्रीहरू हुनुहुन्छ मेरो क्याबिनेटका,’ दाहालले भने।
गगन थापालाई कांग्रेसको महाधिवेशनमा ल्याउन विश्वप्रकाश शर्मा र प्रदीप पौडेललगायतको पनि भूमिका रहेको उनले बताए। गगनले कांग्रेसमा क्रमभंगता गरेर देखाएको भन्दै उनले पार्टीलाई अझ उचाइमा लैजान आग्रह गरे।
दाहालले बुढापाकालाई नयाँ भनिनेहरूले अपमान गर्ने प्रवृत्ति देखिन नहुने बताए। लोकतन्त्र र शान्तिका पक्षधरहरूले यस्तो प्रवृत्ति देखाउन नहुने उनको भनाइ थियो। ‘हामी सबै मिलेर देश चलेको हुन्छ,’ उनले भने।
संविधानलाई सुदृढ गर्ने काममा सबै राजनीतिक दल मिलेर अघि बढ्नुपर्नेमा जोड दिँदै दाहालले केही विषय टुंग्याउन बाँकी रहेको बताए। ती विषय टुंग्याउन नसकिए देश अर्कैतिर जान सक्ने उनको चेतावनी थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *