नेपाल–भारतबीच सीमा सुरक्षा र अपराध नियन्त्रणमा सहकार्य बढाउन छलफल

सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच सीमा सुरक्षा र सीमापार अपराध नियन्त्रणमा सहकार्य थप प्रभावकारी बनाउन दुई देशका सीमा सुरक्षा अधिकारीबीच छलफल भएको छ।
लुम्बिनीमा सम्पन्न दशौं डीआईजीस्तरीय समन्वयात्मक बैठकमा सीमा क्षेत्रमा हुने अवैध चोरीनिकासी तथा पैठारी नियन्त्रण, सूचना आदानप्रदान र सीमा अपराध न्यूनीकरणका विषयमा छलफल भएको हो।
सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति डीआईजी दीपक अधिकारी र भारतीय सशस्त्र सीमा बल सेक्टर हेडक्वार्टर लखीमपुर खिरीका डीआईजी बी। विक्रमनले आ–आफ्नो टोलीको नेतृत्व गरेका थिए।
बैठकमा मानव तस्करी, नक्कली मुद्रा, लागूऔषध ओसारपसार, तेस्रो मुलुकका नागरिकको गैरकानुनी प्रवेश नियन्त्रण तथा सीमा स्तम्भको मर्मतसम्भारका विषयमा छलफल भएको थियो। दुवै देशका सुरक्षा निकायबीच दशगजा क्षेत्रमा संयुक्त गस्ती, सूचना आदानप्रदान, खेलकुद तथा अन्य संयुक्त गतिविधिलाई निरन्तरता दिने विषयमा समेत सहमति भएको बाहिनिपति डिआईजी दिपक अधिकारीले बताए।
‘बैठकमा यस अघि गत वैशाख २२ गते भारतको रुपैडिहा स्थित एकीकृत जाँच चौकीमा सम्पन्न नवौं समन्वयात्मक बैठकका निर्णय तथा एजेन्डाको समेत समीक्षा गरियो’, डिआईजी अधिकारीले भने, ‘दुवै देशमा गरिने यस्ता नियमित बैठकले साझा रूपमा पहिचान गरिएका विषय कार्यान्वयन गर्दै आगामी दिनमा सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने रणनीतिमा जोड दिन्छ ।’
बैठकमा डीआईजी अधिकारीले सहमतिमा भएका विषय कार्यान्वयन गर्न दुवै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताए। उनले भोटेकोशी बाढीपछि भारत सरकारले गरेको सहयोग तथा नदीले बगाएर लगेका शवको खोजी र हस्तान्तरणमा भारतीय पक्षले पुर्‍याएको सहयोगप्रति धन्यवाद व्यक्त गरे।
भारतीय पक्षका डीआईजी बी। विक्रमनले डिजिटल बोर्डर तथा बाहिनीस्तरमा सूचना आदानप्रदानका लागि अनौपचारिक संयन्त्र विकास गर्नुपर्ने धारणा राखेका थिए। बैठकमा नेपालतर्फबाट एसएसपी तेजप्रसाद पोखरेलसहित लुम्बिनी प्रदेशका सीमावर्ती जिल्लाका सशस्त्र प्रहरी गणपति तथा भारतका गोरखपुर र लखीमपुर खिरी सेक्टरअन्तर्गतका पाँच–पाँचवटा बटालियनका कमाण्डरहरूको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *