राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बन तथा प्रशासनिक र आर्थिक प्रतिबन्ध फुकुवा गरेको छ ।
राखेपको कार्यकारी समितिले बिहीबार गरेको निर्णयअनुसार एन्फामाथि यसअघि लगाइएका सबै प्रकारका निलम्बन तथा प्रतिबन्ध फुकुवा गरिएको हो ।
शिक्षा तथा खेलकुद मन्त्री समित पोखरेलले एसियाली फुटबल महासंघ (एएफसी) बैठकका अवसरमा एएफसी र फिफाका प्रतिनिधिसँग थाइल्यान्डमा भेट गर्दै छन् । सोही सन्दर्भमा राखेपले केहीबेरअघि सूचना सार्वजनिक गरेर एन्फामाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।
राखेपका सदस्यसचिव रामचरित्र मेहताले एन्फालाई पत्र पठाउँदै निर्णयबारे जानकारी गराएका छन् । पत्रमा एन्फाले ५ अप्रिल २०२६ मा पत्रमार्फत गरेको अनुरोध र यसअघि राखेपले जारी गरेका विभिन्न पत्रलाई आधार मानेर प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरिएको उल्लेख छ ।
राखेपले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ ९३० बमोजिम निलम्बन तथा प्रतिबन्ध फुकुवा गरिएको जनाएको छ ।
राखेपले यस निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा तथा खेलकुद मन्त्रालय, फिफा र एसियाली फुटबल महासंघ (एएफसी) लाई समेत गराएको छ ।
एन्फाका प्रवक्ता सुरेश शाहले राखेपबाट निलम्बन फुकुवाको पत्र प्राप्त भएको बताए ।
राखेपले गत माघमा एन्फामाथि प्रतिबन्ध लगाएपछि थर्ड पार्टी इन्टरफरेन्स भन्दै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले एन्फालाई प्रतिबन्ध लगाएको थियो ।
