टोखाको साइबाबा चोकस्थित कोइराला स्टोर पस्नेबित्तिकै विभिन्न कम्पनीका भुटेका मकैका प्याकेटहरू आँखामा पर्छन् । केही वर्ष अगाडिसम्म दालमोट र चाउचाउले भरिने र्याक अहिले मकैका प्याकेटले भरिएका छन् । गाउँघरको सामान्य खाजाका रूपमा चिनिने मकै अहिले सहरमा स्वस्थ खाजाको विकल्पका रूपमा स्थापित हुँदै गएको व्यवसायीहरू बताउँछन् ।
धादिङको थाक्रे–९ घर भएका राजकुमार कोइराला ग्राहकहरूले बढ्दो मागका कारण अहिले ३ फरक कम्पनीको भुटेको मकै बिक्रीका लागि राखेको बताउँछन् । ‘अहिले भुटेको मकै खोज्ने ग्राहकहरूको संख्या बढे्को छ । फरक–फरक स्वादमा मकै खोज्नेको संख्या बढेपछि तीनवटा कम्पनीको मकै राख्ने गरेको छु,’ उनले भने ।
राजकुमार गाउँघरमा खाइने भुटेको मकै र अहिले बजारमा पाइने प्याकेटमा पाउने मकैबीचको फरक सुनाउँछन् । ‘पहिला हामीले खाने मकै ठेला मकै भन्थ्यौं । अलि सारो हुन्थ्यो । अहिले बजारमा पाइने मकै के मिलाएर होला निकै नरम हुन्छन् । त्यसैले पनि होला ग्राहकको रोजाइमा परेको जस्तो लाग्छ,’ उनले भने ।
राजकुमार भुटेको मकैको व्यापार पछिल्लो समय बढेको बताउँछन् । ‘महिनामा कति जान्छ भनेर ठ्याक्कै ख्याल त गरेको छैन,’ उनले भने, ‘तर कम्तीमा ६०/७० प्याकेट त जान्छ जस्तो लाग्छ । प्याकेटको १०० देखि ११० रुपैयाँ पर्ने खालको मकै राखेका छौं,’ उनले भने ।
मकै खाने ग्राहकहरू विभिन्न उमेर समूहका हुने गरेको उनको भनाइ छ । ‘स्कुले बालबालिकाको अभिभावकले समेत टिफीन बक्समा राख्दिने गर्नुहुन्छ,’ उनले भने, ‘जंक फुडभन्दा अर्गानिक खाजा भन्दै घरका लागि पनि लैजानुहुन्छ । विभिन्न अफिसमा काम गर्नेदेखि लिएर रक्सीसँग सितनको लागि भनेर समेत लैजाने ग्राहक हुनुहुन्छ ।’ राजकुमारलाई केही समय अगाडिसम्म २० प्याकेट मकै बेच्न पनि गाह्रो हुन्थ्यो । ‘पहिला त त्यही मकै १०/२० प्याकेट जान पनि मुस्किल हुन्थ्यो ,’ उनले भने, ‘मकै मात्र होइन, भुटेको केराउ पनि राम्रै जान्छ । त्यसैले चाउचाउ बिस्कुटभन्दा मकै, भटमासतिर आकर्षण बढेको जस्तो लाग्छ । स्वाद पनि छ । स्वास्थ्यका हिसाबले पनि राम्रै हो भनेर ग्राहकहरूको बुझाइ छ ।’
