१४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नै १५ औँ महाधिवेशन गराउँछ : कांग्रेस नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नै नियमित प्रक्रियामार्फत १५ औँ महाधिवेशन गर्ने दाबी गरेका छन्।
गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा शुक्रबार काठमाण्डुको शोभाभगवतीमा आयोजित माल्यार्पण कार्यक्रममा संस्थापन इतर समूहका नेता सिंहले आठौँ, नवौँ र दसौँ महाधिवेशनको परम्परा जस्तै १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नै नियमित प्रक्रियामार्फत १५ औँ महाधिवेशन गर्ने दाबी गरे ।
उनले आफ्नो पक्षका अरु नेताले जुनसुकै बाटो रोजे पनि वा साथ छोडे पनि पार्टीभित्र लोकतान्त्रिक मूल्य–मान्यता,विधि र परम्पराको रक्षा गर्न आफूहरू अडिग रहने बताए ।
विधान र नियम मिचेर, पद र सुविधाका लागि जबर्जस्ती आह्वान गरिएको विशेष महाधिवेशन अलोकतान्त्रिक अभ्यास भएको भन्दै उनले १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक रहेको पनि दाबी गरे ।
पार्टीको विधि, नियम र विधानलाई तोडमोड गरेर गरिने महाधिवेशनको सट्टा नियमित प्रक्रियाबाटै अगाडि बढ्नुपर्ने उनले बताए। सर्वोच्च अदालतले कानुनी निरुपण गर्ने भए पनि राजनीतिक मुद्दाहरूको समाधान पार्टीको आन्तरिक लोकतान्त्रिक मूल्य र पद्धतिबाटै हुनुपर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *