पर्वतको मोदी गाउँपालिका–४ क्याङस्थित कर्बाकेली आधारभूत विद्यालयमा पढाइ किताबका पानामा मात्र सीमित छैन । विद्यार्थीहरू वनमा गएर आफैं निउरो टिप्छन्, विद्यालयको टनेलमा तरकारी फलाउँछन्, उत्पादनलाई बजारसम्म पुर्याउने तरिका सिक्छन् । त्यसबाट भएको आम्दानीलाई आफ्नै शैक्षिक गतिविधिमा लगाउँछन् ।
वनमा खेर जाने निउरोदेखि विद्यालयको खाली जमिनमा फल्ने तरकारीसम्म, विद्यार्थी र शिक्षकको मेहनत अहिले आम्दानीसँगै व्यावहारिक शिक्षाको माध्यम बनेको छ । विद्यालयले विद्यार्थीलाई किताबी ज्ञानका साथै कृषि उत्पादनदेखि बजारीकरणसम्मको व्यावहारिक शिक्षा प्रदान गरेकामा प्रशंसा पनि भइरहेको छ ।संकलित उपज बिक्रीका लागि विद्यालयका शिक्षक–शिक्षिका आफै सदरमुकाम कुश्मा बजारसम्म पुग्ने गरेका छन् ।
विद्यालयले शुक्रबारको अतिरिक्त कक्षाका साथै शनिबार र आइतबारको बिदाका समयमा मौसमअनुसार वनमा पाइने निउरो, बाँसको टुसा, लप्सीजस्ता उपज संकलन गरी बिक्री गर्दै आएको छ । गाउँपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रममा आधारित रहेर विद्यार्थीहरूलाई स्थानीय उत्पादनको बजारीकरण र त्यसबाट गर्न सकिने आम्दानीका उपायहरूबारे व्यावहारिक सीप सिकाइएको विद्यालयका प्रधानाध्यापक दिपेन्द्र चापागाई बताउँछन् ।
उनका अनुसार गत साताको शनिबार ६५ किलो निउरो कुश्मा बजारमा बिक्री गरिसकिएको छ । शिक्षकहरूको उपस्थितिमा वनमा पुगेर निउरो टिप्नेदेखि विद्यालयमा ल्याएर बेच्नका लागि मुठा पार्नेसम्मका गतिविधिमा विद्यार्थीहरू सक्रिय रूपमा सहभागी हुन्छन् । आज (शनिबार) पनि १२० किलो निउरो बिक्रीका लागि बिहानै कुश्मा र पातिचौर लगायतका मुख्य बजारहरूमा पठाइसकिएको प्रधानाध्यापक चापागाईले जानकारी दिए ।विद्यालय सदरमुकाम कुश्माबाट धेरै टाढा रहेकाले विद्यार्थीहरूलाई बिक्री प्रक्रियामा प्रत्यक्ष सहभागी गराउने इच्छा हुँदाहुँदै पनि भौगोलिक कठिनाइ भएको उनले बताए । ‘गाउँमा हुने मेला–महोत्सवमा विद्यार्थीहरूलाई नै बिक्रीका लागि सहभागी गराउाछौँ, ‘उनले भने, ‘कुश्मा बजार टाढा भएकाले सबै विद्यार्थीलाई लैजान व्यावहारिक नदेखिएकाले सर म्याडमहरू नै बेच्न जाने गर्नुहुन्छ । ‘विद्यार्थीहरूले तयार पारेको लप्सी र मुलाको अचार तथा गुन्रुक जस्ता परिकारहरू धेरैले रुचाउने र राम्रो बिक्री हुने गरेको पनि उनले बताए ।
विद्यार्थीहरूले ‘सृजनशील बाल क्लब’ गठन गरेका छन् । क्लबमा आबद्ध विद्यार्थीहरूले नै विद्यालयको प्लास्टिक टनेल र खाली जमिनमा मौसमी तथा बेमौसमी खेती गर्दै आएका छन् । उनीहरूले गोलभोडा, प्यााज, घिरौँला, मुला, बन्दा, काउली र साग जस्ता तरकारीहरू रोपेका छन् । गाउँमा हुने हरेक मेला–महोत्सवमा विद्यालयले तयार पारेका कृषि उत्पादनहरू बिक्रीका लागि पुर्याइने गरिएको सृजनशील बाल क्लबकी अध्यक्ष निसमा सेपुर्जाले बताइन् ।
मौसमी तथा बेमौसमी तरकारी खेतीबाट हुने आम्दानी विद्यार्थीहरूको वृत्तिविकासमा खर्च गरिने विद्यालयले जनाएको छ । बिक्रीबाट प्राप्त रकम विद्यार्थीहरूको पोसाक, टाई, बेल्ट, परिचयपत्र र विद्यालयका विविध कार्यक्रमका पुरस्कारमा खर्च गरिँदै आएको अध्यक्ष सेपुर्जाले जानकारी दिइन् ।
You may also like
-
लगातारको सुक्खा पहिरोले तातोपानी भन्सार असुरक्षित
-
यो आम रूपमा मुख थुन्ने प्रयास जस्तै देखिन्छ’ नेपालको स्वतन्त्र प्रेसमाथि बालेन्द्र शाहको प्रहार
-
अरूसँग होइन, हिजोको आफूसँग प्रतिस्पर्धा गरेँ : मिस नेपाल दीपमाला ढकाल
-
भुटेको मकै : अब सहरियाको ‘हेल्दी स्न्याक्स’
-
ज्येष्ठ नागरिकका पीडा : आराम-सम्मानको उमेरमा अपमान र दुर्व्यवहार
