विदेशमा रहेका नेपालीको मताधिकारबारे अध्ययन गरिने

विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न निर्वाचन आयोगले कानुनी र प्राविधिक पक्षबारे अध्ययन सुरु गरेको छ ।
आयोगको बैठकले विदेशमा रहेका नेपालीलाई मताधिकार दिन कानुनी तथा प्रविधिका क्षेत्रमा गर्नुपर्ने सुधारबारे अध्ययन गरी ३० दिनभित्र प्रतिवेदन पेस गर्न दुई छुट्टाछुट्टै समिति गठन गर्ने निर्णय गरेको हो ।
विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न आवश्यक पर्ने कानुनी सुधारबारे अध्ययन गर्न निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको संयोजकत्वमा एक समिति गठन गरिएको छ । उक्त समितिमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र गृह मन्त्रालयका प्रतिनिधि सदस्य रहने व्यवस्था गरिएको छ ।
निर्वाचन प्रक्रियालाई समयानुकूल, सुरक्षित, प्रभावकारी र समावेशी बनाउन सूचना प्रविधिको प्रयोगका विषयमा अध्ययन गर्न आयुक्त डा. राजीव सुब्बाको संयोजकत्वमा अर्को समिति गठन गरिएको छ । यस समितिमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय एकीकृत डाटा व्यवस्थापन केन्द्र र नेपाल प्रहरीको साइबर ब्युरोलगायत निकायका प्रतिनिधि रहेका छन् ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार नयाँ प्रमुख आयुक्त र आयुक्तहरू आएपछि विगतका अध्ययन र वर्तमान वस्तुस्थितिलाई हेरेर फरक ढंगले अघि बढ्न खोजिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *