ग्यास अभावबारे संसद्‌मा सत्तारुढ दलकै सांसदको प्रश्न, शून्य समयमा कसले के भने ? 

बजारमा ग्यास अभाव चुलिएर उपभोक्ता घण्टौं लाइनमा बस्न बाध्य भइरहेका बेला प्रतिनिधिसभाको शून्य समयमा सांसदहरूले सरकारको आपूर्ति तथा वितरण प्रणालीमाथि प्रश्न उठाएका छन् । सत्तारूढ रास्वपाकै सांसदहरूले ग्यासको कृत्रिम अभाव, कालोबजारी र वितरणको अव्यवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका छन् भने विपक्षी सांसदहरूले पनि उपभोक्ताले भोगिरहेको सास्ती तत्काल अन्त्य गर्न माग गरेका छन् ।

रास्वपा सांसद आशिका तामाङले ग्यास अभावबारे कवितात्मक शैलीमा व्यङ्ग्य कसिन् । थानकोटको मान्छे ग्यासको खाली सिलिन्डर भर्न बालाजु र टेकु धाउनुपर्ने बताउँदै भनिन्, ‘लाग्दछ मलाई रमाइलो मेरै पाखापखेरो, हिमाल फेदीमुन्तिर कहिले बन्छ ग्यास भर्ने पँधेरो ।’

रास्वपाकै सांसद कुसुम महर्जनले बजारमा ग्यासको कृत्रिम अभाव र कालोबजारी सिर्जना भएको बताइन् । अभावका कारण उपभोक्ता महँगो मूल्य तिर्न बाध्य भएको उनको भनाइ थियो । कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्नेमाथि कारबाही गर्न पनि उनले माग गरिन् । ‘आपूर्ति प्रणालीमा देखिएको संरचनागत समस्या पहिचान गर्नुपर्छ,’ उनले भनिन् । ग्यास कम्पनीलाई तत्काल सबै डिपोमा भएको वितरणको विवरण माग गर्न पनि उनले आग्रह गरिन् ।रास्वपाकै अर्की सासंद अप्सना बानुले भने ग्यासको अभावलाई सरकारको असफलता मात्रै भन्नु उचित नहुने तर्क गरिन् । ग्यास अभाव उपभोक्ताकै कारण भएको संकेत गर्दै भनिन्, ‘हाफ सिलिन्डरबाट फुल सिलिन्डरमा फर्किंदा उपभोक्तामा अनावश्यक सञ्चय गर्दा बजारमा दबाब सिर्जना भयो ।’ उनले सरकारले बजार अनुगमन थप प्रभावकारी बनाउनुपर्ने र दोषी देखिए कारबाही गर्नुपर्ने बताइन् । 

विपक्षी दल कांग्रेस सांसद गीता गुरुङले सरकारले ग्यासको अभाव छैन भनिरहे पनि सरकारको दाबी एकातिर र नागरिकले अभाव तथा सास्ती भोगिरहेको अवस्था अर्कोतिर रहेको बताइन् । ‘केही समयअघि सरकारले लाइन हैन, अब अनलाइन भनेको थियो । तर अहिले ग्यासदेखि पासपोर्टसम्म जनता लाइनमा छन्,’ उनले भनिन्, ‘आपूर्ति प्रणाली सही छ भने वितरण किन अस्तव्यस्त ?’

राप्रपा सासंद खुश्वु ओलीले उद्योग मन्त्री ग्यास बाँड्दै हिडेको प्रसंग सुनाउँदै जनता ग्यासका निम्ति तातो घाममा बस्नुपरिरहेको यथार्थ बताइन् । ‘मन्त्रीले प्रणालीलाई बलियो बनाउने हो । दुईचार जनालाई दया गरेर ग्यास बाँड्ने होइन,’ उनले भनिन् ।

केही दिनयता बजारमा ग्यास अभागको संकट चुलिएको छ । देशैभरका कान्तिपुर संवाददाताहरुले ग्यास अभावका विवरण पठाइरहेका छन् । सरकार र उद्योगी भने ग्यास पर्याप्त भएको दाबी गरिरहेका छन् । भारतबाट आपूर्तिमा समस्या नहुने अवस्था बनेपछि निगमले ३१ असार २०८३ देखि साबिककै १४.२ केजीको भरी सिलिन्डर बिक्री सुरु गर्‍यो । त्यसपछि भने बजारमा एकाएक माग बढ्यो र ग्यासको अभाव फेरि देखिन थाल्यो ।

२०८१/८२ को चैतमा ४८ हजार ३ सय २७, वैशाखमा ४६ हजार ५ सय ३, जेठमा ४९ हजार ८ सय १६ र असारमा ४७ हजार ९ सय ३३ टन ग्यास आयात भएको थियो । चालु आर्थिक वर्षमा चैत, वैशाख र जेठमा आयात ४० हजार टनभन्दा कम भए पनि असारमा पुनः आयात बढेको नेपाल आयल निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *