काठमाडौँ भोटेकोसी बाढीबाट पूर्ण रुपमा क्षति भएको नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय भारत सरकारले बनाउने भएको छ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले विद्यालय भवन निर्माणमा भारतले सहयोग गर्ने बताएका छन्। राजदूत श्रीवास्तवले विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीलाई भेटेर विद्यालय भवन बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।
यसअघि पनि विद्यालयको भवन बनाएको र फेरि पनि भवन निर्माणमा भारतले सहयोग गर्ने उनले जनाएका छन्। ‘यो विद्यालय सन् १९५० मा भारतीय इन्जिनियरको डिजाइनमा बनाइएको थियो। सन् २०२२ मा अनुदान कार्यक्रमअन्तर्गत भवन बनाएर हस्तान्तर गरेका थियौँ,’ राजदूत श्रीवास्तवले एक्समा लेखेका छन्, ‘भविष्यमा पनि विद्यालयको भवन बनाउन सहयोग गर्नेछौँ।’
भदौ १० गते आएको भोटेकोसी बाढीले विद्यालयका सम्पूर्ण संरचना बगाएको छ। विद्यालय सञ्चालन गर्ने अवस्थामै नरहेको प्राधानाध्यापक दवाडीले बताएका छन्। एक हजार ६४२ जना विद्यार्थी भने सुरक्षित छन्।
विद्यालयका एक विद्यार्थी, एक शिक्षक र एक कर्मचारीलाई भने बाढीले बगाएको छ। विद्यालयका प्राधानाध्यापक दवाडीले तत्काल विद्यालय खाली गरेर विद्यार्थीलाई सुरक्षित स्थानमा पठाएका थिए।
