तिब्बतले नेपाललाई दियो दुईवटा बेलीब्रिजसहित आपतकालीन राहत

तिब्बतले नेपाललाई दुईवटा बेलीब्रिज निर्माण गर्न पुग्ने सामग्रीसहित आपतकालीन राहत प्रदान गरेको छ। तिब्बतबाट पठाइएको राहत सामग्री शुक्रबार चीनको सिगात्सेस्थित रिजी बन्दरगाहमा नेपाललाई हस्तान्तरण गरिएको हो।
‘साझा हिमाल, साझा नदी, सुखदुःखमा एकता’ भन्ने नारासहित चीन र नेपाली भाषामा लेखिएको ब्यानरसहित राहत सामग्री हस्तान्तरण गरिएको थियो।
सिजाङबाट पठाइएको राहतमा बेलीब्रिजका प्यानल, बलियो सस्पेन्सन रड, सपोर्ट फ्रेम, ब्रिज डेकिङ तथा आई(बिमलगायतका सामग्री छन्। यी सामग्रीबाट दुईवटा बेलीब्रिज निर्माण गर्न सकिने जनाइएको छ।
बाढी तथा पहिरोबाट प्रभावित नेपालको क्षेत्रमा क्षतिग्रस्त यातायात सम्पर्क पुनःस्थापना गर्न तथा उद्धार र राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सामग्री पठाइएको हो।
त्यस्तै ल्हासास्थित नेपाली महावाणिज्यदूतावासबीच राहत सामग्री हस्तान्तरणसम्बन्धी कार्यक्रमसमेत भएको थियो। कार्यक्रममा नेपालका लागि ल्हासास्थित महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले नेपाली पक्षका तर्फबाट हस्तान्तरण प्रमाणपत्रमा हस्ताक्षर गरेका थिए।
नेपाली पक्षले विपद्का बेला चीनले देखाएको शीघ्र सहयोगप्रति आभार व्यक्त गरेको छ। तिब्बतले समेत उपलब्ध गराएको सहयोगले साझा हिमाल र नदीले जोडिएका दुई क्षेत्रबीचको मित्रता र विपद्का बेला एकअर्कालाई सहयोग गर्ने सम्बन्धलाई थप बलियो बनाएको नेपाली पक्षले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *