नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी उच्च अधिकृतहरुसहित लिएर सभामुख डीपी अर्यालसँग भेट गरेका छन् । सभामुखको कार्यकक्षमा शुक्रबार दिउँसो भएको भेटमा कार्कीसहितका उच्च अधिकृतहरुले सांसदहरुबाटै प्रहरीको मनोबल गिराउने काम भएको भन्दै गुनासो गरेका छन् । ‘पछिल्लो समयमा संसद् र संसदीय समितिमा जुन रुपमा प्रहरीबारे अभिव्यक्ति आइरहेका छन्, त्यसले मनोबल गिराउने काम गरेको विषयमा असन्तुष्टि राख्यौं,’ भेटमा सहभागी एक उच्च अधिकृतले भने, ‘सम्बन्धित निकायले अनुसन्धान र छानबिन गर्ने प्रक्रियामा कुनै समस्या छैन, संसद्प्रति उत्तरदायित्वको कुरामा पनि फरक भएन । तर, आईजीपी भनेको संस्था पनि हुने भएकाले शिष्टाचार र मर्यादाको कुरा पनि ख्याल गरिदिनुपर्ने विषयमा कुरा राख्यौं ।’
जेन-जी आन्दोलन र त्यसअघि समेत विभिन्न कारणले प्रहरीको मनोबल बारम्बार गिरिरहेका बेला संस्थामाथि बारम्बार प्रहार हुँदा तल्लो तहसम्मै समस्या देखिनसक्ने अधिकृतले बताएका थिए । ‘यदि यस्तै भइरहने हो भने भोलिका दिन त्यसले शान्ति, सुरक्षाको काममा समेत प्रत्यक्ष असर पार्छ भन्ने विषय पनि राखियो,’ ती अधिकृतले भने । जवाफमा सभामुख अर्यालले प्रहरी नेतृत्वले राखेको विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै त्यसबारे पहिल्यैदेखि चासो राखेको उल्लेख गरेका थिए । ‘तपाईंहरु भेट्न पनि आउनु भयो, राम्रो कुरा हो । तर, त्यसअघिबाटै के भएको हो भनेर यो विषयमा मैले आफैं बुझिरहेको थिएँ,’ सभामुख अर्यालले भनेका थिए ।
विशेषगरी संसदीय समितिमा सत्तारुढ रास्वपा सांसद् खगेन्द्र सुनारले व्यक्त गरेको अभिव्यक्तिप्रति प्रहरी नेतृत्वको असन्तुष्टि छ । शुक्रबार गृहमन्त्री सुधन गुरुङले समेत एउटा उजुरीका भरमा न्यायाधीश नबन्न सांसदहरुलाई सुझाव दिएका थिए । यसबीच, शुक्रबार नै नेपाल पूर्वप्रहरी संगठन, पूर्वप्रहरी कर्मचारी परिषद्, पूर्वसशस्त्र प्रहरी संघ र सुरक्षा र न्याय अध्ययन केन्द्रले सांसद् सुनारको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । चारैवटा निकायले संयुक्त विज्ञप्ति जारी गर्दै ‘सुनारको अभिव्यक्तिको भाषा, प्रस्तुति र आशयले संसदीय मर्यादा, पदीय गरिमा, संस्थागत शिष्टाचार तथा व्यावसायिक आचरणको अपेक्षित सीमालाई अतिक्रण गरेको’ भनेको छ ।
