माथिल्लो त्रिशूली–१ को सुरुङमा थप ११ शव भेटिए

रसुवाको भोटेकोसीमा भदौ १० मा आएको बाढीपछि सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका कामदारको खोजीका क्रममा अडिट–३ सुरुङबाट थप ११ शव निकालिएको छ ।
आयोजनाको अडिट ३ टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा फेला परेका ११ वटा शव बाहिर निकालिएको हो।
आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा टनेलभित्रको जालीमा अल्झिएको तथा हिलोमा दबिएको अवस्थामा शवहरू फेला पारेको हो।
फेला परेका ११ वटै शव उद्धार गरी टनेलबाट बाहिर निकालिएको खोज तथा उद्धार अपडेटमा जनाइएको छ।
शनिबार निकालिएको ११ सहित माथिल्लो त्रिशूली १ बाट २४ शव संकलन भएको छ। सोही आयोजनाबाट एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गरिएको थियो। तर त्यसपछि भने जीवित उद्धार भएको छैन।
नेपाली सेना, सशस्त्र प्रहरी बल र प्राविधिकसहितको टोलीले खोजीलाइ उद्धार जारी राखेका छन्।
बाढीका कारण आयोजनास्थलबाट ठुलो संख्यामा मानिसहरू सम्पर्कविहीन भएका छन् । बेपत्ता अन्य व्यक्तिहरूको खोजी कार्य अझै जारी रहेको नेपाली सेनाले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *