संविधान दिवसको अवसरमा मधेश भवन सरसफाइ

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा मधेश प्रदेश सरकारले शुक्रबार बिहान मधेश भवन परिसरमा सरसफाइ कार्यक्रम आयोजना गरेको छ।
संविधान दिवसलाई औपचारिक कार्यक्रमभन्दा बाहिर निकाल्दै सामाजिक उत्तरदायित्व र नागरिक सहभागितासँग जोड्ने उद्देश्यले आयोजित सरसफाइ कार्यक्रममा प्रदेश सरकारका मन्त्री, कर्मचारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मी सहभागी भए।
सहभागीहरूले झाडु लगाउनुका साथै परिसरमा रहेको फोहोर संकलन गर्दै विभिन्न स्थानको सरसफाइ गरेका थिए। उनीहरूले सार्वजनिक स्थलको संरक्षण तथा स्वच्छताप्रति सामूहिक प्रतिबद्धतासमेत जनाए।
कार्यक्रममा अर्थमन्त्री युवराज भट्टराई तथा गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले संविधान दिवसलाई केवल औपचारिक समारोहमा सीमित नराखी नागरिक दायित्व र सामाजिक उत्तरदायित्वसँग जोडेर मनाउनुपर्नेमा जोड दिए।
उनीहरूले संविधानले नागरिकलाई अधिकार र स्वतन्त्रता प्रदान गरेसँगै समाज, समुदाय र सार्वजनिक सम्पत्तिप्रति जिम्मेवार बन्ने दायित्वसमेत दिएको बताए।
स्वच्छ वातावरण निर्माण सरकारको मात्रै जिम्मेवारी नभई प्रत्येक नागरिकको साझा दायित्व भएकाले सरसफाइलाई नियमित अभियानका रूपमा अघि बढाउनुपर्ने उनीहरूको भनाइ थियो।
मन्त्री महतोले सार्वजनिक स्थलको संरक्षण, स्वच्छता र सामाजिक जिम्मेवारीलाई व्यवहारमै उतार्नु संविधानप्रतिको सम्मानको महत्वपूर्ण आधार भएको बताए।
संविधान दिवसका अवसरमा गरिने यस्ता रचनात्मक गतिविधिले नागरिकमा आफ्नो परिवेशप्रति जिम्मेवार बन्ने भावना विकास गर्ने उनको भनाइ थियो।
सरसफाइ कार्यक्रममा सहभागीहरूले संविधानले परिकल्पना गरेको समुन्नत समाज निर्माणका लागि अधिकारसँगै कर्तव्य र जिम्मेवारीको पनि उत्तिकै महत्व रहेको बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *