काठमाडौँ दुई दिनदेखि परेको अविरल वर्षाले उर्लिएको तिनाउ नदीको बाढीले बुटवलमा पाँच घर बगाएको छ । तिनाउ नदी किनारमा बसेका बुटवल उपमहानगरपालिका (११ मजुवामा जस्तापाताले छाएका घरहरू बगाएको हो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार उक्त क्षेत्रमा मानवीय क्षति हुनबाट जोगिएको छ ।
स्थानीय सखिल मियाँ, दुर्गादेव बानियाँ, बफारदिन मियाँ, राजेन्द्र दर्जी र अब्दुल अलीको घर पूर्णरुपमा बगाएर क्षति पुगेको हो । उनीहरूलाई बुटवल उपमहानगरपालिकाले विभिन्न क्षेत्रमा बनाएको होल्डिङ सेन्टरमा राखिएको छ ।
पानी परेदेखि तिनाउखोलामा निरन्तर बाढी उर्लिएको छ । मौसम पूर्वानुमान महाशाखाले समेत तिनाउ नदीले क्षति पुर्याउन सक्ने भन्दै सजग रहन आग्रह गरिरहेको छ । मजुवा,बुद्धनगरसहित तिनाउ नदी आसपासमा बर्सेनि नदीले कटान गर्दै आइरहेको छ । नदीले कटान गरेका अरु बस्तीहरू पनि जोखिममा परेका छन् ।
