मनाङको नार्फाभूमि गाउँपालिका–५ स्थित हिमलुङ क्षेत्रमा आइतबार गएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये थप दुई जनाको शव फेला परेको छ।
नेपाल राष्ट्रिय पर्वतीय गाइड संघका अनुसार सोमबार उद्धार तथा खोजतलासमा गएको टोलीले हिमपहिरो प्रभावित क्षेत्रमा वीरेन्द्र गुरुङ र घनश्याम राईको शव फेला पारेको हो।
यसअघि छेवी भोटे र पासाङ भोटेको शव फेला परेको थियो। उनीहरूको शव पोस्टमार्टमका लागि आज काठमाण्डु ल्याइएको छ। आइतबार बिहान हिमलुङ बेसक्याम्पमा हिमपहिरो जाँदा १६ जना बेपत्ता भएका थिए। घटनापछि उद्धार तथा खोजी कार्य जारी छ।
मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार दुईवटा पर्यटक कम्पनीबाट बेसक्याम्प निर्माणका लागि हिमलुङ क्षेत्रमा पुगेका २७ जना कामदार हिमपहिरोमा परेका थिए। तीमध्ये ११ जना हिजै सकुशल सदरमुकाम फर्किएका छन्।
हालसम्म चार जनाको शव फेला परेको छ भने बाँकी १२ जनाको अवस्था अझै अज्ञात रहेको पौडेलले जानकारी दिए। उद्धार टोलीले हिमपहिरो प्रभावित क्षेत्रमा खोजी कार्यलाई निरन्तरता दिएको छ।
