एक महिनामा भित्रिए ८८ हजार २४८ पर्यटक

सेप्टेम्बर २०२६ मा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा १२.१ प्रतिशतले बढेको छ।
नेपाल पर्यटन बोर्डका अनुसार सेप्टेम्बर २०२६ मा विभिन्न मुलुकबाट गरी कुल ८८ हजार २४८ जना विदेशी पर्यटक नेपाल आएका छन्। गत वर्षको सेप्टेम्बरमा भने ७८ हजार ७११ जनापर्यटक नेपाल आएका थिए।
पर्यटक आगमनमा सबैभन्दा ठूलो हिस्सा दक्षिण एसियाली मुलुकको रहेको छ। दक्षिण एसियाबाट सेप्टेम्बरमा ३० हजार ८५ जनापर्यटक नेपाल आएका छन्।
यो कुल पर्यटक आगमनको करिब ३४।९ प्रतिशत हो। गत वर्षको सोही महिनामा दक्षिण एसियाबाट २४ हजार २८५ जना पर्यटक आएका थिए।
दक्षिण एसियाबाट भारतबाट मात्रै १७ हजार ४२५ जना पर्यटक नेपाल आएका छन्। यस्तै श्रीलंकाबाट ७ हजार १०८, बंगलादेशबाट ३ हजार ९६४, भुटानबाट १ हजार १११ र पाकिस्तानबाट ४२९ जना पर्यटक आएका छन्।
यस्तै, चीनबाट ११ हजार २१२ जना पर्यटक नेपाल भित्रिएका छन्। यो आगमन गत वर्षको तुलनामा ५८ प्रतिशतभन्दा बढीले बढेको तथ्यांकमा उल्लेख छ।
यस्तै, युरोपबाट भने पर्यटक आगमन घटेको छ। सेप्टेम्बरमा युरोपबाट १५ हजार १४८ जना पर्यटक नेपाल आएका छन्। जुन गत वर्षको सोही महिनाको तुलनामा ८।७ प्रतिशत कम हो।
बेलायतबाट ३ हजार ७२५, जर्मनीबाट १ हजार ९७४, फ्रान्सबाट १ हजार ३८९, स्पेनबाट १ हजार १२० र इटालीबाट ९१० जना पर्यटक आएका छन्।
ओसियानिया क्षेत्रबाट ५ हजार ४२२ जना पर्यटक नेपाल आएका छन्। यसमध्ये अस्ट्रेलियाबाट ४ हजार ८४२ र न्युजिल्यान्डबाट ५८० जना आएका छन्। यो क्षेत्रबाट आउने पर्यटकको संख्या गत वर्षको तुलनामा २५.९ प्रतिशतले घटेको छ।
अमेरिकाबाट पनि पर्यटक आगमनमा कमी आएको छ। सेप्टेम्बरमा अमेरिकाबाट १० हजार १०७ जना पर्यटक आएका छन्। गत वर्षको सोही महिनामा यो संख्या ११ हजार ५२३ थियो।
मध्यपूर्वबाट भने पर्यटक आगमन ११.९ प्रतिशतले बढेर २ हजार ६०६ जना पुगेको छ। अफ्रिकी मुलुकबाट ४२४ जना पर्यटक नेपाल आएका छन्, जुन गत वर्षको तुलनामा २३.३ प्रतिशत बढी हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *