प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्टबीच भेटवार्ता भएको छ।
बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र राजदूत अर्न्स्टबीच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा दुई देशको आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै आएको बाढी र पहिरोपछि अस्ट्रेलिया सरकारले देखाएको मित्रता, एक्यबद्धता र सहयोगका लागि कृतज्ञता व्यक्त गरेका छन्।
बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै नेपाल सरकारले खोज, उद्धार, राहत र पुनःस्थापनाका लागि उपलब्ध सम्पूर्ण स्रोतसाधन परिचालन गरिरहेको जानकारी दिए। विपद् लगत्तै अस्ट्रेलियाले विशेषज्ञ ड्रोन अपरेटर, राहत सामग्री र १७ सदस्यीय विपद् सहकार्य तथा प्रतिकार्य टोली नेपाल पठाएकोमा प्रधानमन्त्री शाहले प्रशंसा गरे।
यससँगै अस्ट्रेलियाले उपलब्ध गराएको ११ मिलियन अस्ट्रेलियन डलरको सहयोग दुई देशबीचको प्रगाढ सम्बन्धको प्रतीक भएको उनको भनाइ थियो। बाढीका कारण बेपत्ता रहेका अस्ट्रेलियन नागरिकको खोजी कार्यलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको प्रधानमन्त्री शाहले जानकारी दिए।
भेटमा राजदूत अर्न्स्टले प्राकृतिक विपद्का कारण नेपालले बेहोरेको क्षतिप्रति समवेदना व्यक्त गरे। उनले हालै संयुक्त राष्ट्रसंघमा नेपालले जनाएको सशक्त र प्रभावकारी उपस्थितिको समेत प्रशंसा गरेका छन्।प्रधानमन्त्री शाहले यसअघि भारत, अमेरिकालगायतका देशका राजदूतसँग एक्लाएक्लै भेटवार्ता गरेका थिए।
