काठमाडौँ बेलायतको लन्डनस्थित नेपाली दूतावासमा भगवान् गौतम बुद्धको प्रतिमाको औपचारिक अनावरण नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज गनेश पौडेलले गरेका छन्।
नेपाली दूतावासद्वारा आयोजित विशेष ‘नेपाल इभिनिङ’ कार्यक्रममा उक्त प्रतिमाको अनावरण गरिएको हो। कार्यक्रममा नेपालका प्रतिनिधिसभा सदस्य तथा नेपाल–बेलायत संसदीय समितिका संयोजक मनिष झाको पनि उपस्थिति रहेको थियो।
लन्डनस्थित नेपाली दूतावासमा बुद्ध प्रतिमाको स्थापना हुनु नेपालको बौद्ध सम्पदा र भगवान् गौतम बुद्धको जन्मभूमिका रूपमा नेपालको अन्तर्राष्ट्रिय पहिचानलाई थप सुदृढ बनाउने महत्वपूर्ण कदमका रूपमा लिइएको छ।
कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पौडेलले भगवान् गौतम बुद्धलाई नेपालका शान्ति र करुणाका विश्वदूतका रूपमा चित्रण गर्नुभयो। उहाँले नेपाली दूतावासमा बुद्ध प्रतिमा स्थापना गर्ने पहलको प्रशंसा गर्दै भगवान् बुद्धको विश्वव्यापी शान्ति र करुणाको सन्देश अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए।
उक्त प्रतिमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को पहलमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् यूके तथा बुद्ध फाउन्डेसन यूकेको सहकार्य र समन्वयमा स्थापना गरिएको हो। यस अभियानमा नेपाल पर्यटन बोर्डले बुद्ध प्रतिमालाई नेपालबाट बेलायतसम्म ढुवानी गर्न आवश्यक सहयोग उपलब्ध गराएको थियो। विभिन्न संस्थाको सहकार्य र योगदानबाट नेपालको बौद्ध सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने यो अभियान अघि बढेको हो।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता तथा पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष सोमनाथ सापकोटाले यस परियोजनाको नेतृत्व तथा समन्वय गरेका थिए।
सापकोटका अनुसार लन्डनस्थित नेपाली दूतावासमा स्थापना गरिएको बुद्ध प्रतिमा एनआरएनएको विश्वव्यापी अभियानअन्तर्गत पहिलो हो। एनआरएनएको समन्वयमा विश्वका विभिन्न मुलुकमा रहेका नेपाली दूतावास तथा कूटनीतिक नियोगहरूमा थप बुद्ध प्रतिमाहरू स्थापना गर्न आवश्यक प्रक्रिया अघि बढिरहेको छ।
नेपालसँग लामो समयदेखि कूटनीतिक सम्बन्ध रहेको बेलायतस्थित नेपाली दूतावासमा पहिलो प्रतिमा स्थापना गरिएको यस अभियानअन्तर्गत नेपालको पछिल्लो समय स्थापना भएको कूटनीतिक नियोगमध्ये एक पोर्चुगलस्थित नेपाली दूतावासमा पनि बुद्ध प्रतिमा स्थापना गर्ने योजना रहेको छ। त्यसैगरी, अन्य मुलुकमा रहेका नेपाली दूतावास तथा कूटनीतिक नियोगहरूमा आवश्यकता र प्राथमिकताका आधारमा प्रतिमा स्थापना गर्ने प्रक्रिया पनि एनआरएनएको समन्वयमा अघि बढिरहेको छ।
यस अभियानलाई सफल बनाउन एनआरएनएले आन्तरिक स्रोतबाट सहयोग संकलन गर्ने, मूर्तिकारसँग समन्वय गरी प्रतिमा निर्माण गर्ने तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी र विभिन्न राष्ट्रिय समन्वय परिषद्हरूको सहयोग परिचालन गरिरहेको छ। एनआरएनएका पदाधिकारी, राष्ट्रिय समन्वय परिषद्, सहयोगी संस्था तथा नेपाली डायस्पोराको सामूहिक सहभागितामा नेपाली कूटनीतिक नियोगहरूमा कुल १० वटा बुद्ध प्रतिमा स्थापना गर्ने लक्ष्य राखिएको छ।
यसै अभियानसँग सम्बन्धित अर्को पहलअन्तर्गत एनआरएनए अस्ट्रेलियासँगको सहकार्यमा अस्ट्रेलियास्थित ग्रेट स्तूपा अफ युनिभर्सल कम्प्यासनमा भगवान् बुद्धको ६।२ इन्चको धातुबाट निर्मित अर्को प्रतिमा स्थापना गर्ने योजना पनि रहेको छ।
यस अभियानको मुख्य उद्देश्य भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध तीर्थस्थल, आध्यात्मिक पर्यटन तथा सांस्कृतिक आदानप्रदानको महत्वपूर्ण गन्तव्यका रूपमा प्रवर्द्धन गर्नु हो। यसका लागि एनआरएनएले नेपाल पर्यटन बोर्ड तथा बौद्ध सर्किटअन्तर्गतका विभिन्न स्थानीय तहसँग सहकार्य गर्दै नेपालको बौद्ध सम्पदाको प्रवर्द्धन र आध्यात्मिक पर्यटन विकासमा समेत काम गरिरहेको छ।
बुद्ध प्रतिमा अनावरणसँगै नेपाली दूतावासमा आयोजित ‘नेपाल इभिनिङ’ कार्यक्रमले नेपाल र बेलायतबीच पर्यटन साझेदारी तथा व्यावसायिक सम्बन्ध विस्तारमा समेत महत्वपूर्ण अवसर प्रदान गरेको थियो। नेपाल पर्यटन बोर्डको सहकार्यमा आयोजित कार्यक्रममा बेलायती ट्राभल अपरेटर तथा पर्यटन व्यवसायीहरूसँग द्विपक्षीय पर्यटन साझेदारी र सहकार्यका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक पर्यटन, आध्यात्मिक पर्यटन तथा विविध पर्यटकीय गन्तव्यहरू समेटिएका प्रस्तुति तथा गन्तव्य प्रवर्द्धन सामग्री प्रस्तुत गरिएको थियो। साथै, नेपाली मौलिक कला, संस्कृति र परम्परा झल्काउने सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो।
उक्त कार्यक्रममा नेपालबाट आएका ३२ जना पर्यटन व्यवसायी तथा पर्यटन प्रतिनिधिहरू, बेलायतका पर्यटन क्षेत्रका प्रतिनिधि र नेपाली डायस्पोराका सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नेपालको पर्यटन सम्भावना प्रस्तुत गर्नुका साथै नेपाल र बेलायतबीच पर्यटन व्यवसाय, व्यावसायिक सञ्जाल तथा दीर्घकालीन सहकार्य विस्तार गर्ने अवसर प्राप्त भएको थियो।
९० भन्दा बढी मुलुकमा फैलिएको एनआरएनएको विश्वव्यापी सञ्जालले नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन बजार, सांस्कृतिक संस्था, लगानीकर्ता तथा व्यावसायिक समुदायसँग जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। संघले अन्तर्राष्ट्रिय समन्वय परिषद्, राष्ट्रिय समन्वय परिषद् तथा विभिन्न विषयगत समितिमार्फत नेपालको पर्यटन, संस्कृति, सम्पदा, लगानीका अवसर र अन्तर्राष्ट्रिय साझेदारी प्रवर्द्धनमा काम गर्दै आएको छ। बुद्ध प्रतिमा स्थापना अभियान यसै सञ्जाललाई नेपालको सांस्कृतिक कूटनीति र अन्तर्राष्ट्रिय पहिचान सुदृढ गर्न परिचालन गर्ने एउटा महत्वपूर्ण उदाहरण हो।
लन्डनस्थित नेपाली दूतावासमा बुद्ध प्रतिमाको अनावरण नेपालको सांस्कृतिक पहिचान र कूटनीतिक सम्बन्धका दृष्टिले महत्वपूर्ण उपलब्धि हो। यसले एनआरएनए आईसीसी, एनसीसी यूके, बुद्ध फाउन्डेसन यूके, नेपाल पर्यटन बोर्ड, नेपाली कूटनीतिक नियोग र विश्वभर रहेका नेपाली समुदायको सामूहिक प्रयासमार्फत भगवान् बुद्धको शान्ति, करुणा र सद्भावको सन्देश विश्वभर फैलाउने प्रतिबद्धतालाई थप बलियो बनाएको छ।
