परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिस्रीबीच भेट

दुईदिने औपचारिक भ्रमणका लागि बुधबार बिहान नेपाल आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–भारतबीचको बहुआयामिक साझेदारीलाई थप गहिरो बनाउने तथा दुई देशबीच रहिआएको ऐतिहासिक मित्रतालाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ।
परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार भेटमा द्विपक्षीय सम्बन्धका विविध पक्षबारे विचार आदानप्रदान भएको थियो।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आएका मिस्रीले भ्रमणका क्रममा प्रधानमन्त्री वालेन्द्र शाहसँग पनि भेटवार्ता गर्ने कार्यसूची रहेको छ।
भ्रमणका क्रममा उनले नेपालसँग द्विपक्षीय, क्षेत्रीय तथा विश्वव्यापी चासोका विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
त्यसैगरी, परराष्ट्र सचिव राई र भारतीय विदेश सचिव मिस्रीबीच पनि द्विपक्षीय छलफल हुनेछ। उक्त छलफलमा नेपाल(भारत सम्बन्धका सम्पूर्ण पक्षको समीक्षा गर्नुका साथै आपसी हितका विविध विषयमा विचार आदानप्रदान गर्ने कार्यक्रम छ।
यसैबीच, प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणका विषयमा पनि मिस्रीको नेपाल भ्रमणका क्रममा छलफल हुन सक्ने बताइएको छ। प्रधानमन्त्री शाह मङ्सिर पहिलो साता भारत भ्रमणमा जाने तयारीमा रहेको चर्चा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *