परराष्ट्रमन्त्री शिशिर खनालले शिक्षा, प्रविधि, नवप्रवर्तन र जनस्तरको सम्बन्धले नेपाल(जापान मित्रतालाई थप सुदृढ बनाएको बताएका छन्।
साउथ एसिया फेडेरेसन अफ जापानिज युनिभर्सिटी अल्मुनाई एसोसियसन (साफजुआ) द्वारा आयोजित ‘साफजुआ सिम्पोजियम २०२६’ को उद्घाटन सत्रलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले शिक्षा र शैक्षिक आदानप्रदानबाट स्थापित सम्बन्ध राष्ट्रहरूबिचको सबैभन्दा बलियो र दीर्घकालीन सम्बन्ध बन्न सक्ने बताए।
नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको सन्दर्भ उल्लेख गर्दै परराष्ट्रमन्त्री खनालले दुई देशबिचको मित्रता औपचारिक कूटनीतिक सम्बन्धभन्दा धेरै पुरानो रहेको बताए।
सन् १८९९ मा जापानी बौद्ध भिक्षु एकाई कावागुची बौद्ध धर्मसम्बन्धी ग्रन्थहरूको खोजीमा नेपाल आएको र सन् १९०० को सुरुवातमा आठ जना नेपाली विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि जापान गएको स्मरण गरे।
उनले भने, ‘यी प्रारम्भिक सम्पर्कहरूले दुई देशका जनताबिच सम्बन्धको जग बसालेका थिए, जसले अन्ततः सन् १९५६ मा औपचारिक कूटनीतिक सम्बन्धको रूप लियो।’
नेपालको विकास यात्रामा जापानको आर्थिक रूपान्तरण र प्राविधिक प्रगतिले प्रेरणा प्रदान गरेको उल्लेख गर्दै उनले पछिल्लो सात दशकमा जापान नेपालको विश्वासिलो विकास साझेदारका रूपमा रहेको बताए।
पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, विपद् उत्थानशीलता र मानव संसाधन विकासका क्षेत्रमा जापानले पुर्याउँदै आएको योगदानको उनले प्रशंसा गरे।
परराष्ट्रमन्त्री खनालले अहिले जापानमा तीन लाखभन्दा बढी नेपाली बसोबास गरिरहेको र गत वर्ष जापानमा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये नेपाली विद्यार्थी दोस्रो ठूलो समूहका रूपमा रहेको उल्लेख गर्दै यसले दुई देशबिचको शैक्षिक, सांस्कृतिक, आर्थिक तथा जनस्तरको सम्बन्धलाई थप जीवन्त बनाएको बताए।
नेपालमा हालै आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति जापानी प्रधानमन्त्री साने ताकाइचीले प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संवादमार्फत व्यक्त गरेको समवेदना र ऐक्यबद्धताका लागि उनले धन्यवाद दिए।
विपद्का बेला जापानले उपलब्ध गराएको तत्कालीन राहत सामग्री, फरेन्सिक विशेषज्ञता तथा डीएनए पहिचानमा गरेको सहयोगले दुई देशबिचको गहिरो मित्रता र ऐक्यबद्धता प्रतिबिम्बित गरेको परराष्ट्रमन्त्री खनालले बताए।
यसैगरी परराष्ट्रमन्त्री खनालले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण तथा जापानका सम्राट र प्रधानमन्त्रीसँग भएका भेटवार्ताले द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्याएको उल्लेख गरे।
नेपाल(जापान सम्बन्धमा योगदान पुर्याएका पूर्वपरराष्ट्र सचिव तथा पूर्वराजदूत मदनकुमार भट्टराईलाई यस वर्ष जापान सरकारले ‘अर्डर अफ द राइजिङ सन, गोल्ड एन्ड सिल्भर स्टार’ सम्मान प्रदान गरेकामा पनि परराष्ट्रमन्त्रीले खुसी व्यक्त गरे।
शिक्षालाई नेपाल(जापान सम्बन्धको महत्त्वपूर्ण आधारका रूपमा व्याख्या गर्दै परराष्ट्रमन्त्री खनालले जापानमा अध्ययन गरेका हजारौँ नेपाली विद्यार्थी, अनुसन्धानकर्ता तथा पेसाकर्मीले स्वदेश फर्किएर नेपालको संस्थागत विकास, उद्योग तथा समुदायमा योगदान पुर्याइरहेको बताए।
जापान सरकारको ‘प्रोजेक्ट फर ह्युमन रिसोर्स डेभलपमेन्ट स्कलरसिप’ ९जेडीएस० कार्यक्रमले नेपाली सरकारी अधिकारीहरूलाई जापानमा उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गरेको उल्लेख गर्दै उनले यसबाट सार्वजनिक नीति, सुशासन र विकास प्रशासनमा नेपालको संस्थागत क्षमता अभिवृद्धि भइरहेको बताए।
दक्षिण एसियाली मुलुकहरूले जलवायु परिवर्तन, प्राकृतिक विपद्, तीव्र सहरीकरण र युवाका लागि उत्पादनमूलक अवसर सिर्जना गर्नुपर्ने जस्ता साझा चुनौती सामना गरिरहेको उल्लेख गर्दै परराष्ट्रमन्त्री खनालले यी क्षेत्रमा जापानसँग सहकार्यका प्रशस्त सम्भावना रहेको बताए।
परराष्ट्रमन्त्री खनालले नेपाल–जापान तथा दक्षिण एसियाली मुलुकहरूबिच सहकार्यका लागि शिक्षा तथा मानव संसाधन विकास, विज्ञान तथा प्रविधि र नवप्रवर्तन तथा जलवायु परिवर्तन र विपद् उत्थानशीलतालाई प्राथमिकतामा राख्नुपर्ने बताए।
शैक्षिक संस्था तथा अनुसन्धान केन्द्रबिच संयुक्त अनुसन्धान, प्राध्यापक आदानप्रदान, व्यावसायिक मार्गदर्शन र उद्योगसँगको सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिँदै उनले कृत्रिम बौद्धिकता, नवीकरणीय ऊर्जा र आधुनिक इन्जिनियरिङजस्ता उदीयमान प्रविधिमा सहकार्य गर्न सकिने बताए।
नेपाल र जापान दुवै प्राकृतिक विपद्को सामना गरिरहेका मुलुक भएकाले जापानको पूर्वसूचना प्रणाली, उत्थानशील पूर्वाधार र समुदायको तयारीसम्बन्धी अनुभव नेपालका लागि महत्त्वपूर्ण हुन सक्ने उनले बताए।
साफजुआलाई विश्वविद्यालय, नीतिनिर्माता र निजी क्षेत्रलाई जोड्ने ठोस सहकार्यका संयन्त्र स्थापना गर्न आग्रह गर्दै मन्त्री खनालले संयुक्त अनुसन्धान, मेन्टरसिप कार्यक्रम र संस्थागत साझेदारीलाई अघि बढाउन सुझाव दिए।
‘यस सिम्पोजियमको वास्तविक उपलब्धि यसका छलफलबाट विकसित हुने साझेदारी र कार्यान्वयनमा आउने पहलहरूबाट मापन हुनेछ,’ उनले भने।
नेपाल र जापानबिचको मित्रताको ७० वर्ष पूरा भएको अवसरमा आगामी ७० वर्षलाई अझ महत्त्वाकांक्षी र उपलब्धिमूलक बनाउन शिक्षा, नवप्रवर्तन र सहकार्यमा लगानी बढाउनुपर्ने उनले बताए।
‘शिक्षामार्फत स्थापित मित्रता राष्ट्रहरूबिचका सबैभन्दा बलिया र दीर्घकालीन सम्बन्धमध्ये एक बन्न सक्छन्’, उनले भने।
