निजी अस्पतालमा आकस्मिकबाहेक बीमाको सबै सेवा बन्द

सरकारले निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक स्वास्थ्य बीमाको सेवा कटौती भएको छ । स्वास्थ्य बीमा बोर्डले जेठ १२ गते निजी अस्पतालमा आकस्मिक बाहेकका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको सूचित गरेको थियो । सूचनामा शनिबारदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएको स्वास्थ्य बीमासम्बन्धी सेवा आकस्मिकबाहेक बन्द हुने उल्लेख छ । यो निर्णय कार्यान्वयनसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका सयौँ निजी अस्पताल, मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएको परीक्षण, ओपीडी सेवा, औषधि तथा अन्य नियमित सेवा प्रभावित हुनेछ । बीमा बोर्डका अनुसार सेवा प्रदायक संस्थालाई १५ अर्ब भन्दा धेरै बक्यौता तिर्न बाँकी छ । निजी अस्पतालले पनि लामो समयदेखि सरकारले स्वास्थ्य बिमाबापतको भुक्तानी नगरेको, दाबी रकम अड्काएको तथा प्रक्रियागत झन्झट बढाएको गुनासो गर्दै आएका थिए । स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिका अनुसार पछिल्लो निर्णय अनुसार स्वास्थ्य उपचारका लागि सुविधा थैलीको परिवर्तित दररेट पनि लागू भएको छ । सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिमार्जित नयाँ दरअनुसार औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशालाको परीक्षण शुल्क लिन निर्देशन दिएको उनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *