नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशन गर्ने निश्कर्ष निकालेको छ।
चुनदेवीस्थित सम्पर्क कार्यालयमा सोमबार देउवा पक्षले १५औं महाधिवेशन आयोजक समितिका संयोजक डा। शशांक कोइरालाको नेतृत्वमा बसेको बैठकले महाधिवेशन गर्ने निर्णय गरेको हो। बैठकपछि आयोजित पत्रकार सम्मेलनमा संयोजक डा। कोइरालाले सबैलाई मिलाएर लग्नका लागि महाधिवेशन गर्न लागिएको बताए।
‘नेपाली कांग्रेसको शक्ति यसको इतिहास, विचार, लोकतान्त्रिक चरित्र र कार्यकर्ताको निष्टामा निहित छ,’ पत्रकार सम्मेलनमा कोइरालाले भने, ‘विधि, विधान, वैधानिकता र एकताको मार्गमा दृढतापूर्वक उभिएर मात्र पार्टीलाई पुनः सशक्त, विश्वसनीय र नागरिकको आशाका केन्द्रका रुपमा स्थापिन गर्न सक्छौं।’
सभापति गगन थापा पक्षसँग वार्ता गरेर एउटै महाधिवेशन गर्नका लागि पहल गर्ने उनको भनाइ थियो। ‘समूह छुट्टिन्छ भन्ने हामी के गर्न सक्छौं, वार्ता बाहेक हामीसँग विकल्प छैन,’ कोइरालाले भने, ‘वार्ता गरेर उनीहरूलाई मूल बाटो स्वागत गर्न चाहन्छौं।’
सभापति थापाले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई आफ्नो नेतृत्वको केन्द्रीय कार्यसमितिमा पनि सदस्य बनाउने निर्णय गरेका थिए। त्यसपछि देउवा पक्षको बैठक बसेको हो।
त्यसलाई स्वीकार नगर्ने निर्णय भएको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा नेता डा। प्रकाशशरण महतले बताए। ‘असोज ४ गते वडा अधिवेशन तोकेको छ, त्यसमा सहभागी भएपछि केन्द्रीय सदस्य बनाउछौं भनेको छ,’ महतले भने, ‘यो त अपमान हो। हामीले केन्द्रीय सदस्य खोजेको होइन, एकताको महाधिवेशन खोजेको हो।’
देउवा पक्षले असोज १५ गतेदेखि वडा अधिवेशन तय गरेको छ। त्यसमा सहभागी हुने देशभरका नेता तथा कार्यकर्तालाई आह्वावन गरेको छ ।
