सुस्तामा बाढी, ३ सय जनाको उद्धार

नारायणी नदीमा आएको बाढीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ डुवानमा परेको छ ।
बाढी बस्तीमा पसेपछि सयौं परिवार विस्थापित भएका छन् ।
सुरक्षाकर्मीले जोखिममा परेका स्थानीयको उद्धार गरिरहेका छन् । सशस्त्र प्रहरीका अनुसार हालसम्म ७५ घरका ३ सय जनालाई उद्धार गरी सुरक्षित आश्रयस्थलमा सारिएको छ । घरमै बसिरहेका बेला बस्ती डुवानमा परेपछि स्थानीयलाई सुरक्षाकर्मीले भित्रै पुगेर बाहिर निकालेका छन् । उद्धार गरिएकासँगै पशुचौपायालाई समेत सुरक्षित स्थानमा लगिएको छ ।
बाढीबाट सुस्ताका करिब २५० घर डुबानमा परेका छन् । त्यसमध्ये करिब १ सय ५० घर पूर्णरूपमा डुबेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण नवलपरासीका प्रमुख एसपी गोविन्दबहादुर खातीले बताए । थारू टोलबाट बस्तीमा पसेको बाढी सैनिक टोल, बड्की टोल र क्याम्प टोलसम्म फैलिएको छ । सुस्ता गाउँमा २ सय २० घरधुरीमा करिब १ हजार ४ सय मानिसको बसोबास छ ।
बाढीको असर सुरक्षाकर्मीका संरचनामासमेत परेको छ । सुस्तामा रहेका नेपाल प्रहरीको कार्यालय र सशस्त्र प्रहरीको सीमा सुरक्षा चौकीसमेत डुबेका छन् । गण्डक ब्यारेजमा पानीको बहाव तीव्र रूपमा बढेको छ । शुक्रबार बिहान प्रतिसेकेन्ड ९२ हजार क्युसेक रहेको बहाव शनिबार २ लाख ८० हजार क्युसेक पुगेको छ ।
नारायणीको जलसतह बढ्ने क्रम नरोकिएकाले सुस्तामा थप डुबानको जोखिम रहेको स्थानीय प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *