सिंगापुरका नेपालीले बाढीपीडितका लागि गरे १७ लाख बढी सहयोग

काठमाडौँ भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोपछिको विपद्बाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि नेपालिज सोसाइटी सिंगापुर (एनएसएस) ले आफ्ना सदस्यहरू, तथा शुभेच्छुकहरूलाई एकजुट गर्दै सहयोग अभियान सञ्चालन गरेको छ।
एनएसएसले आफ्ना सदस्य, तथा शुभेच्छुकहरूबीच सञ्चालन गरेको निजी सहयोग संकलन अभियानबाट हालसम्म एसजीडी १४ हजार ४ सय ८९ संकलन गरी नबिल बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पहिलो चरणको १७ लाख ११ हजार पाँच सय ८५ रुपैयाँ हस्तान्तरण गरेको छ।
उक्त पहिलो चरणको रकम ३ सेप्टेम्बर २०२६ मा (विपद् आएको आठ दिनमै) जम्मा गरिएको हो।
२ सेप्टेम्बर २०२६ पछि प्राप्त भएका सहयोग रकमहरू हाल संकलन तथा समायोजन भइरहेको छ र आगामी चरणहरूमा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरिनेछ। एनएसएसले समुदायबाट प्राप्त हुने सहयोगलाई निरन्तर रूपमा संकलन गरी सम्बन्धित राहत कोषमा हस्तान्तरण गर्ने कार्यलाई सहजीकरण गर्नेछ।
यस सहयोग अभियानमा बर्मिज गोर्खा सोसाइटी सिंगापुर (बीजीएसएस) ले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। बीजीएसएसले आफ्ना सदस्य तथा शुभेच्छुकहरूलाई नेपालमा जारी राहत प्रयासमा सहयोग गर्न प्रोत्साहित गर्दै सहयोग रकम जुटाउन महत्वपूर्ण योगदान दिएको छ।
विपद मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली, ऐक्यबद्धता र सहानुभूति व्यक्त गर्न एनएसएसले ७ सेप्टेम्बरमा श्रद्दान्जली सभा र दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रम विपद्को १३औँ दिनमा आयोजना गरिएको हो।
कार्यक्रममा ५० भन्दा बढी एनएसएस सदस्य, मित्र तथा शुभेच्छुकहरू सहभागी भई विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरे।
सहभागीहरूले प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता व्यक्त गर्दै आगामी दिनमा गर्नुपर्ने राहत, पुनःस्थापना र पुनर्निर्माणका प्रयासबारे पनि मनन गरेका थिए।
यस भेलाले सिंगापुरमा रहेका नेपाली समुदायलाई दुःख र पीडाको यस घडीमा एकजुट हुने तथा नेपालप्रतिको आफ्नो सामूहिक प्रतिबद्धता पुनः व्यक्त गर्ने अवसर प्रदान गरेको थियो।
बर्मिज गोर्खा सोसाइटी सिंगापुरकी अध्यक्ष हेमा पौडेलले भनिन्, “नेपाल यति कठिन परिस्थितिबाट गुज्रिरहेको बेला सबै एकजुट भएर आफ्नो तर्फबाट सक्दो सहयोग गर्नु हामीले जिम्मेवारी ठानेका छौं । यस अभियानमा नेपालिज सोसाइटीलाई सहयोग गर्दै हाम्रो समुदायलाई एक ठाउँमा ल्याउन योगदान गर्न पाएकोमा हामी आभारी छौं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *