नेपालको भूमि चीनविरुद्ध प्रयोग हुँदैन भन्ने विश्वास दिलाउन रविको आग्रह

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले चीन भ्रमणमा जान लागेको पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डललाई नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्न निर्देशन दिएका छन् ।
शनिबार आफ्नै निवास बुढानीलकण्ठमा चीन उड्ने तयारीमा रहेको नेताहरुको टोलीलाई लामिछानेले उक्त निर्देशन दिएका हुन् ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को निमन्त्रणामा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा ३० सदस्यीय रास्वपा टोली आइतबार चीन उड्दैछ ।
लामिछानेले सीपीसी नेतृत्वसँगको छलफलमा चीनसँग राजनीतिक, सामाजिक तथा आर्थिक सबै क्षेत्रमा सहकार्य विस्तार गर्न आफूहरु इच्छुक रहेको विषय स्पष्टताका साथ राख्न भनेको भेटमा सहभागी एक पदाधिकारीले बताए ।
‘नेपालको भूमि कुनै पनि हालतमा चीनविरुद्ध प्रयोग हुन दिँदैनौं । चीनविरोधी गतिविधिका लागि नेपालको भूमिमा कुनै स्थान छैन । हामी चीनको विकासबाट फाइदा लिन चाहन्छौं’, लामिछानेको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘ राजनीतिक, सामाजिक आर्थिक सबै हिसाबले हामी चीनसँग सहकार्य गर्न चाहन्छौं । मेरो र पार्टीको तर्फबाट चिनियाँ नेताहरुलाई यो कुरा स्पष्टसँग राखेर आउनुहोला ।’
लामिछानेले भ्रमण टोलीलाई चीनसँग पार्टी र सरकारप्रति विश्वासको वातावरण बनाउने विषयमा जोड दिन पनि निर्देशन दिए ।
लामिछानेले चीनको महत्वाकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) बारे भने एजेण्डा बनाएर छलफल नगर्न नेताहरुलाई सचेत गराएका छन् ।
चिनियाँ पक्षले त्यसबारे चासो राखेको खण्डमा बीआरआईबारे गम्भीर रहेको र त्यसको कार्यान्वयनबारे दुई पार्टी र सरकारको शीर्षस्थ तहमा छलफल हुने जवाफ दिन भनेका छन् ।
त्यस विषयमा दुई देशका सरकार र राजनीतिक दलबीच उच्चस्तरीय संयन्त्र बनाएर संवाद अघि बढाउन सकिने उनले बताएका छन् ।
‘बीआरआइका बारेमा हामी गम्भीर छौं । तर, त्यसबारे दुई पार्टी र सरकारको उच्चस्तरीय संयन्त्रमा छलफल हुन्छ, यही सन्देश भन्नुहोला’, उनले भने ।
लमिछानेले चीनको अभूतपूर्व विकासबाट नेपालले लाभ लिन सक्ने सम्भावनाबारे अध्ययन गर्न पनि टोलीलाई निर्देशन दिएका छन् ।
लामिछानेले चिनियाँ कम्युनिस्ट पार्टीले धेरै पहिलादेखि पार्टी–पार्टी सम्बन्ध विस्तारमा पनि जोड दिँदै आएको र त्यही सन्दर्भमा छलफल गर्न उच्चस्तरीय टोली जान लागेको बताएका थिए ।
उनले रास्वपा गठन, राजनीतिक पृष्ठभूमि र उद्धेश्य तथा पार्टी निर्माणको प्रक्रिया र अहिलेसम्मका उपलब्धिबारे चिनियाँ पक्षलाई स्पष्ट जानकारी गराउन टोलीलाई भनेका छन् ।
रास्वपाको पहिलो महाधिवेशनले पारित गरेको सामाजिक लोकतन्त्रको अवधारणाबारे पनि आफ्नो धारणा स्पष्टसँग राख्नुपर्ने उनको निर्देशन छ । दुई देश तथा रास्वपा र सीपीसीबीच विश्वासको वातावरण निर्माण गर्न भ्रमण उपयोगी हुने विश्वास उनले लिएका छन् ।
त्यस्तै, चीनको विकास मोडेल, प्रादेशिक तथा स्थानीय विकासका अभ्यास र राज्य सञ्चालनको तरिकाबारे जानकारी लिएर आउन पनि लामिछानेले टोलीलाई सुझाव दिएका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीले आफ्ना नेता तथा कार्यकर्तालाई कसरी प्रशिक्षित गर्छ भन्ने विषय समेत बुझेर आउन भनेका छन् ।
विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनामा चीनले हासिल गरेको अनुभवबाट नेपालले सिक्न सक्ने भन्दै उनले यस विषयमा पनि छलफल गर्न निर्देशन दिएका छन् ।
नेपाल–चीन व्यापार, बहुआयामिक आर्थिक विकास र आपसी सहकार्यका सम्भावनाबारे छलफल गर्नुपर्नेमा पनि लामिछानेको निर्देशन छ ।
लामिछानेले भ्रमण टोलीका सदस्यहरुसँग सामूहिक र त्यसपछि पदाधिकारी र सचिवालय सदस्यसँग छुट्टै छलफल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *