प्रधानमन्त्री बालेन्द्र शाह र जापानी प्रधानमन्त्री सानाए ताकाइचीबिच टेलिफोन वार्ता भएको छ । जापानी प्रधानमन्त्री ताकाइचीले भएको उक्त टेलिफोन वार्तामा भोटेकोशी हिमबाढीले निम्त्याएको विपतपछिको अवस्थामा जापान सरकारका तर्फबाट ऐक्यबद्धता प्रकट गरिन् ।
जापानको विदेशमन्त्रालयका अनुसार जापानी प्रधानमन्त्री ताकाइचीले नेपालमा आएको भीषण बाढीमा परेर ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गरिन् ।
साथै, विपतको घडीमा जापान सरकार नेपालको साथमा रहेको स्पष्ट पारिन् । सो क्रममा जापानका प्रधानन्त्री ताकाइचीले प्रधानमन्त्री शाहसमक्ष बाढीका क्रममा सम्पर्कविहीन भएका पाँच जापानी नागरिकको तत्काल खोजी तथा उद्धारका लागि आग्रह गरिन् ।
टेलिफोन वार्ताका क्रममा प्रधानमन्त्री शाहले क्षति तथा विपत् व्यवस्थापनमा नेपाल सरकारले गरिरहेका प्रयासबारे अवगत गराए । जापानी सरकार तथा जनताबाट प्राप्त सहानुभूति, सहयोग र ऐक्यबद्धताको सन्देशप्रति उनले आभार व्यक्त गरेको दूतावासले जनाएको छ ।
विपद्मा साथ रहेको प्रतिबद्धता अनुसार जापानबाट राहत तथा उद्धार सामग्रीको अर्को लट छिटै नेपाल पठाउने क्रममा रहेको जापानका प्रधानमन्त्री ताकाइचीले प्रधानमन्त्री शाहसमक्ष प्रष्ट पारिन् ।
