अवार्ड पाएपछि विजय बरालले सम्झिए मण्डलाको पुरानो मञ्चदेखि क्यामराअघि उभिएको ‘छड्के’ सम्मको क्षण


एजेन्सी: चलचित्र विकास बोर्डले राष्ट्रिय चलचित्र पुरस्कार २०८१ अन्तर्गत ‘पूर्णबहादुरको सारंगी’बाट अभिनेता विजय बरालले उत्कृष्ट अभिनेताको अवार्ड पाए ।सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा एक कार्यक्रमकोबीच पुरस्कार ग्रहण गरेपछि उनले अवार्डले दिएको खुसी लुकाउन चाहेनन् ।

उनले एक लामो स्टाटस लेख्दै सबैप्रति कृतज्ञ रहेको बताए । मण्डला थिएटरको पुरानो मञ्चदेखि ‘छड्के’ फिल्मको लागि क्यामेराअघि पहिलो पटक उभिँदाको क्षणसम्म सम्झिएका छन् । अहिले ती संघर्षका क्षणहरू एकै पटक मानसपटलमा आइरहेको उल्लेख गरेका छन् ।

‘मन नै त्यस्तो ठाउँ रहेछ, जहाँ सबैको सम्झना र याद एकै पटक संगाल्न सकिने रहेछ । ताते गर्दादेखि आजसम्मको यात्रामा भेटिनुभएको सबैलाई म एकै पटक सम्झिरहेको छु,’ उनले लेखेका छन् ।

उनले थप लेखेका छन्, ‘यहाँसम्म म एक्लै आएको होइन । यो लामो यात्राको हिस्सामा तपाईँहरू सबै हुनुहुन्छ । तपाईँहरू सबैको हिस्सा संगालेर आफ्नो छातीमाझ यो अवार्ड राखिरहेको छु । यतिखेर मनभरि खुसी छ, आँखा सराएका छन्, मुस्कुराउँदा मुस्कुराउँदै रोकिएर भावुक बनेको छु ।’

उनले ७ बुँदामा सबैप्रति कृतज्ञता जाहेर गरेका छन् । उनले लेखेका छन्,-

‘मण्डलाका ती साँघुरा गल्लीहरू –जसले मलाई अभिनयको फराकिलो बाटो हिँडायो। आफ्नो सपना संगाल्दै आफू भएर बाँच्न सिकायो।’

‘साथीहरू- जसले कहिल्यै साथ छाडेनन्। उकालोमा हात दिए, ओरालोमा सहारा बनिदिए र समथरमा अंगालो हालिदिए।’

‘परिवार- जसको विश्वास मेरो मूल शक्ति रह्यो। जसको भरोसा सधैँ मेरो आत्मबल बनिरह्यो।’

‘अग्रजहरू- जसले मलाई लड्खडाउन दिएनन्। असल यात्राका लागि पाठशाला बनिरहे।’

‘सहकर्मी कलाकारहरू- जो सँगै मेरो कला निखारियो। मञ्च र पर्दामा मलाई साथ दिनुभयो। तपाईँहरूको असल भूमिकाकै कारण, मैले सफल चरित्र निर्वाह गर्न सके।’

‘पूर्णबहादुरको सारंगी’ टिम- जसले मलाई पूर्णबहादुरको पूर्ण भूमिकामा विश्वास गर्नुभयो। त्यो सारंगी मेरो हातमा थमाइदिएर, त्यसको धुनलाई सबैमाझ पुर्‍याइदिनुभयो ।’

‘र तपाईँहरू- जसले मप्रतिको माया कहिल्यै घट्न दिनुभएन। यो अनवरत लामो यात्राको साक्षी बस्नुभयो। मलाई हौसला र प्रेरणा दिइरहनुभयो।’

उनले आफूले प्राप्त गरेको अवार्डलाई सबैले दिएको मायाको चिनो जस्तो रहेको बताएका छन् । बरालको साथै उत्कृष्ट अभिनेत्रीको अवार्ड उपासना सिंह ठकुरीले जितेकी थिइन् भने उत्कृष्ट चलचित्र ‘शाम्बाला’ बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *