त्रिशूलीमा आएको बाढीले गरेको सडक कटानका कारण धादिङको कृष्णभीरमा पहिरो जाँदा काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासलगायत अत्यावश्यक वस्तुको अभाव देखिन थालेको छ । काठमाडौं प्रवेश गर्ने मुख्य सडक पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा आइतबार पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा काठमाडौं उपत्यकातर्फ आउने ग्यास तथा पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन बीच बाटोमै रोकिएका छन् । जसका कारण उपत्यकामा ग्यास आपूर्ति प्रभावित भएको छ ।
यसैबीच नेपाल आयल निगमले उद्योगीहरूलाई ग्यास बिक्री वितरणमा घरायसी प्रयोगकर्तालाई प्राथमिकता दिन आग्रह गरेको छ । बुधबार निगमले ग्यास उद्योगी, विक्रेतासँग छलफल गरी बिक्री वितरणलाई सहज बनाउन आग्रह गरेको हो । साथै निगमले व्यावसायिक प्रयोगकर्तालाई भने आफैं ग्यास भर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ । निगमका अनुसार उनीहरूलाई उपत्यकाबाहिर रहेका क्षेत्रमा रहेका ग्यास बोटलिङ प्लान्ट पुगेर भर्नुपर्ने छ ।
अब होटेल, रेस्टुराँलगायतका ठूलो परिमाणमा खपत गर्ने हेटौंडा, वीरगन्ज,बारा, पर्सा, चितवन, मकवानपुर र नवलपरासीलगायतका क्षेत्रमा रहेका बोटलिङ प्लान्ट पुगेर खालि ग्यास भरेर ल्याउनुपर्नेछ । ‘काठमाडौं उपत्यकामा दैनिक ३५ देखि ४० हजार सिलिन्डर आवश्यक हुन्छ । काठमाडौंमा २२ उद्योगले ग्यास बोटलिङ गरेर आपूर्ति गर्दै आएका छन् । सडक भत्किएपछि बुलेट आउन नसक्दा १८ उद्योगले पनि अरु उद्योगसँग समन्वय गरेर काठमाडौंमा ग्यास आपूर्ति गर्नुपर्छ,’ निगमका प्रवक्ता मनोज ठाकुरले बताए ।
