काठमाण्डु तेरापन्थ युवक परिषद्, काठमाडौंले रक्तदान तथा मरणोपरान्त नेत्रदान महाअभियान घोषणा गरेको छ । परिषद्ले आगामी असोज १ देखि ७ गतेसम्म सप्ताहव्यापी रक्तदान तथा मरणोपरान्त नेत्रदान कार्यक्रममा जनसहभागिताका लागि आह्वान गरेको हो ।
परिषद्ले वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई बाँचुन्जेल रक्तदान, मरणोपरान्त नेत्रदान अभियानको सद्भावना दूत समेत घोषणा गरेको हो । रक्तदान र नेत्रदानसम्बन्धी देशभर जनचेतना फैलाउँदै अभियान सञ्चालन गर्न लागिएको परिषद्का अध्यक्ष निश्चल लालवानीले बताए ।
उनका अनुसार वरिष्ठ कलाकारद्वय श्रेष्ठ र आचार्यको सामाजिक प्रभाव, जनस्तरसम्मको पहुँच तथा मानवीय अभियानप्रतिको प्रतिबद्धताले अभियानलाई सफल बनाउन थप मद्दत गर्नेछ ।
परिषद्ले उक्त रक्तदानरनेत्रदान कार्यक्रममा सहभागिताका लागि व्यवसायिक प्रतिष्ठान, शैक्षिक संस्था, सामाजिक संगठन, धार्मिक समुदाय र आमनागरिकतासँग सहकार्यको आह्वान गरेको छ ।
अध्यक्ष लालवानीले प्रत्येक स्वस्थ नागरकहरूलाई नियमित स्वैच्छिक रक्तदान गर्न आग्रह गरे ।
उनका अनुसार २५ वर्षदेखि सामाजिक कार्यमा सक्रिय परिषद्ले यसअघि २५० भन्दा बढी रक्तदान शिविर सञ्चालन गरेको छ भने १४ जनाको मरणोपरान्त नेत्रदान सम्पन्न भइसकेको छ ।
परिषद्ले पशुपतिनाथ परिसरमा दैनिक तथा बौद्धनाथ परिसरमा प्रत्येक शनिबार रक्तदान शिविर सञ्चालन गर्दै आएको जनाएको छ । यी शिविर पशुपति सेवा विकास संस्था, नेपाल रेडक्रस सोसाइटीलगायत विभिन्न अस्पताल, रक्तसञ्चार केन्द्र, सामाजिक तथा स्वयंसेवी संस्थासँगको सहकार्यमा सञ्चालन हुँदै आएका छन् ।
परिषद्ले दृष्टिविहीन तथा आर्थिक रूपमा विपन्न व्यक्तिलाई सहयोग गर्ने उद्देश्यले तीन बालबालिकाको कर्निया प्रत्यारोपण उपचार तथा शल्यक्रियामा आर्थिक सहयोग गरेको जनाएको छ ।\
