ठूला चाडपर्व नजिकिएसँगै बजारमा चिनीको अभाव हुन नदिन भारतबाट आयात भइरहेको २५ हजार टन चिनीमध्ये १० हजार ६ सय २३ टन वीरगन्ज नाकाबाट भित्रिएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको वीरगन्ज प्रादेशिक कार्यालयका प्रमुख अमोज लामिछानेका अनुसार असोज लागेयता उक्त परिमाणमा चिनी आयात भएको हो । हालसम्म चिनी बोकेका चारवटा रेल्वे र्याक वीरगन्ज आइपुगेका छन् । ‘चाडपर्वमा चिनीको माग बढ्ने भएकाले आयातलाई प्राथमिकता दिएका छौं,’ लामिछानेले भने, ‘आइसकेको चिनी बजारमा पठाउन पनि सुरु गरिसकेका छौं ।’
भारतको गुजरातस्थित रेणुका सुगर मिलबाट चिनी खरिद गरिएको हो । कुल २५ हजार टनमध्ये कर्पोरेसनले २२ हजार ५ सय टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २ हजार ५ सय टन चिनी प्राप्त गर्नेछन् । साल्टको चिनीमध्ये ५ हजार टन बिराटनगर प्रादेशिक कार्यालयले पाउने छ ।
आयातित चिनी वीरगन्जबाट मुलुकका विभिन्न बजारमा पठाउन थालिएको छ । दसैं, तिहार र छठजस्ता चाडपर्वमा घरायसी उपभोगसँगै मिठाई, बेकरी तथा अन्य खाद्य सामग्री उत्पादनमा चिनीको खपत बढ्ने भएकाले मागअनुसार आपूर्ति व्यवस्थापन गर्न सरकारी स्वामित्वका संस्थानमार्फत चिनी आयात गरिएको हो ।
चाडपर्वका बेला बजारमा चिनीको अभाव हुन नदिन र मूल्यमा अनावश्यक दबाब पर्न नदिन आयातलाई प्राथमिकता दिइएको कर्पोरेसनले जनाएको छ ।
वीरगन्ज नेपालको प्रमुख व्यापारिक नाका हुनुका साथै सिर्सिया सुक्खा बन्दरगाहसम्म भारतीय रेलमार्फत सामान ढुवानी गर्न सकिने भएकाले ठूलो परिमाणमा चिनी आयातका लागि यो नाका प्रयोग हुँदै आएको छ ।
सरकारी संस्थानमार्फत हुने चिनी आयातले चाडपर्वका बेला बजारमा आपूर्ति सहज बनाउन तथा निजी बजारमा मूल्य स्थिर राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
