नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जीवन कार्कीले महिला नेतृत्व विकासलाई संस्थाको प्राथमिकतासँग जोड्दै सक्षम महिला नेतृत्व नै समुन्नत समाज निर्माणको महत्त्वपूर्ण आधार भएको बताएका छन् ।
पोखरामा सम्पन्न महिला नेतृत्वको क्षमता अभिवृद्धि, आत्मविश्वास विकास र संस्थागत जिम्मेवारीलाई थप सशक्त बनाउने उद्देश्यका साथ आयोजित जेसीआई नेपाल लेडी एकेडेमी–२०२६ मा उनले यस्तो बताएका हुन् ।
उनले महिलालाई नेतृत्वका अवसर प्रदान गर्नुका साथै उनीहरूको क्षमता, आत्मविश्वास र निर्णय प्रक्रियामा सक्रिय सहभागिता अभिवृद्धि गर्न यस्ता एकेडेमीले महत्त्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गरे ।
अध्यक्ष कार्कीले जेसीआई नेपालको ‘प्रोजेक्ट संकल्प २०२६’ अन्तर्गत लक्ष्य निर्धारण गर्ने, कार्यमा अघि बढ्ने र उपलब्धि हासिल गर्ने मूल भावनालाई आत्मसात् गर्दै एकेडेमीबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यक्तिगत जीवन, आफ्नो शाखा तथा समुदायको विकासमा प्रयोग गर्न सहभागीहरूलाई आग्रह गरे ।
जेसीआई नेपालको आयोजना तथा जेसीआई पोखरा लेडीको आतिथ्यतामा सम्पन्न एकेडेमीले महिला नेतृत्व विकास, व्यक्तित्व निर्माण र सकारात्मक सामाजिक रूपान्तरणको महत्त्वपूर्ण सन्देश दिएको छ।
महिला सदस्यलाई सक्षम, आत्मविश्वासी, जिम्मेवार र प्रभावकारी नेतृत्वका रूपमा विकास गर्ने लक्ष्यसहित सञ्चालन गरिएको एकेडेमीमा नेतृत्व विकास, प्रभावकारी सञ्चार, सामूहिक कार्य, आत्मविश्वास अभिवृद्धि तथा संस्थागत कार्यसम्पादनलगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। प्रशिक्षणले सहभागीहरूलाई आफ्नो क्षमता पहिचान गर्न, नेतृत्वदायी भूमिका निर्वाह गर्न र सिकाइलाई व्यवहारमा उतार्न प्रेरित गरेको छ।
एकेडेमीको सफल आयोजनाले महिला सदस्यहरूबीच आपसी सहकार्य, एकता, सिकाइ र नेतृत्व विकासको भावना थप मजबुत बनाएको बताइएको छ। यसले महिलाहरूलाई केवल सहभागीका रूपमा सीमित नराखी निर्णय गर्न सक्ने, जिम्मेवारी बहन गर्न सक्ने र समाजमा सकारात्मक प्रभाव सिर्जना गर्न सक्ने नेतृत्वका रूपमा अघि बढ्न प्रेरणा दिएको छ।
‘सक्षम महिला नेतृत्व, समृद्ध समाजको आधार’ भन्ने भावनालाई आत्मसात् गर्दै जेसीआई नेपालले नेतृत्व विकास, युवा सशक्तीकरण र सकारात्मक रूपान्तरणका अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ ।
