सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि रु २५ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।
प्रदेश सरकारको चालु आर्थिक वर्षका लागि आइतबार प्रदेशसभामा पेस भएको बजेटमा सुदूरपश्चिम प्रदेशको ‘रिफरल अस्पताल’का रूपमा रहेको सेती प्रादेशिक अस्पताल सुधार कार्यक्रम लागू गरिने उल्लेख छ । त्यसका लागि बजेट विनियोजन गरिएको आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले जानकारी दिए ।
मुख्यमन्त्री खगराज भट्ट पदभार ग्रहण गरेलगत्तै सेती प्रादेशिक अस्पतालको निरीक्षण गरेको थियो । त्यसपछि उनले अनुगमनलाई निरन्तरता दिएको थियो ।
मुख्यमन्त्रीमा नियुक्त भएपछि उनले अस्पतालको आकस्मिक कक्ष, डायलायसिस सेवा, आइसीयू, गाइनो वार्डलगायत विभिन्न विभागको अनुगमन तथा निरीक्षण गरेको थियो ।
निरीक्षणका क्रममा उनले अस्पतालको सरसफाइ, भौतिक अवस्था र सेवा प्रवाहप्रति असन्तुष्टि जनाउँदै सुधारका लागि अस्पताल प्रशासनलाई निर्देशनसमेत दिएको थियो ।
कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा विशेषगरी सूदूरपश्चिमका नौवटा जिल्लाका बिरामी उपचारका लागि आउने गरेका छन् । यहाँ बिरामीको चाप, जनशक्ति र पूर्वाधारको व्यवस्थापन चुनौतीका रूपमा देखिएको छ ।
