प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणबारे भारत सरकारले पनि औपचारिक रूपमा घोषणा गरेको छ ।
भारतको विदेश मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहको दुईदिने राजकीय भ्रमणको औपचारिक घोषणा गरेको हो । मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह दुई भ्रमणका लागि आइतबारनयाँ दिल्ली आउन लागेका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा हुन लागेको यस भ्रमणका क्रममा प्रधानमन्त्री शाहले मङ्सिर ७ गते आफ्ना भारतीय समकक्षी मोदीसँग उच्चस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यतालिका तय भएको छ।
मन्त्रालयले उक्त वार्तामा नेपाल–भारत सम्बन्धका सम्पूर्ण आयामहरूको बृहत् समीक्षा हुनुका साथै पारस्परिक हितसँग जोडिएका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयहरूमा गहन छलफल हुने जनाएको छ। साथै प्रधानमन्त्री शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको पनि विज्ञप्तिमा उल्लेख छ।
विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक, सभ्यतागत एवं जनस्तरको बलियो सम्बन्धमा आधारित प्रगाढ मित्रता रहेको उल्लेख छ।
पछिल्ला वर्षहरूमा दुई देशबिच व्यापार तथा वाणिज्य, विकास साझेदारी, ऊर्जा तथा जलस्रोतका साथै भौतिक एवं डिजिटल कनेक्टिभिटीका क्षेत्रमा उल्लेख्य प्रगति भएको भारतीय पक्षको भनाइ छ। यसका अतिरिक्त पछिल्लो समय स्टार्टअप, प्रविधि, नवप्रवर्तन र खेलकुदजस्ता नयाँ क्षेत्रहरूमा समेत दुईपक्षीय सहकार्य विस्तार हुँदै गएको विज्ञप्तिमा जनाइएको छ ।
मन्त्रालयले यस भ्रमणले दुई देशबीच रहिआएको नियमित उच्चस्तरीय राजनीतिक आदानप्रदानको परम्परालाई निरन्तरता दिने विश्वास व्यक्त गरेको छ। भारतले आफ्नो ‘छिमेकी पहिले’ नीतिअन्तर्गत नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्दै आएको स्मरण गराउँदै विज्ञप्तिमा भनिएको छ, ‘यो भ्रमणले दुई देशबिच रहिआएको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै नेपालसँगको सम्बन्धलाई भारतले दिएको उच्च प्राथमिकतालाई झल्काउनेछ।’
