दुई भारतीय नागरिक ४४३ किलो गाँजासहित पक्राउ

काठमाडौं प्रहरीले ४४३ किलो गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
चितवनको राप्ती नगरपालिका–१ लोथरस्थित प्रहरी चेकिङ पोइन्टमा चेकजाँच गर्ने क्रममा भारतीय कन्टेनर गाडीको फल्स बटम बनाएर लुकाइछिपाई ल्याइएको गाँजासहित दुई जना पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय भण्डारा र अस्थायी प्रहरी पोस्ट लोथरबाट खटिएको संयुक्त प्रहरी टोलीले हेटौँडाबाट चितवनतर्फ आउँदै गरेको एनएल ०१०७७९२ भारतीय नम्बर प्लेटको कन्टेनर जाँच गरेको थियो।
जाँचका क्रममा कन्टेनरको चालक सिट पछाडिको क्याबिनमा फल्स बटम बनाई लुकाएर राखिएको अवस्थामा ४४३ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।
गाँजासहित कन्टेनर चालक भारतको वैशाली जिल्ला चर्खाजेका २४ वर्षीय सत्यम कुमार र सहचालक वैशाली जिल्लाकै बाबन घाटका २० वर्षीय रौनक कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेका दुवै जनामाथि लागुऔषध गाँजाको ओसारपसार तथा कारोबारसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *