नेपालले राष्ट्रसंघमा जलवायु संकटको असरबारे जानकारी गराउने

काठमाडौं नेपालले न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा जलवायु संकटबाट नेपालमा परेको असरबारे जानकारी गराउने भएको छ।
परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव अमृत बहादुर राईले संयुक्त राष्ट्रसंघको महासभामा विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगण्य भूमिका भएपनि नेपालले ठूलो नकारात्मक असर भोगिरहेको विषयलाई दृढतापूर्वक महासभामा उठाइने जानकारी दिएका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाहले २४ सेप्टेम्बरमा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको सचिव राईले बताए। उनले नेपालमा गत वर्ष भएको जेनजी आन्दोलन र त्यसपछिको सफल निर्वाचन तथा वर्तमान सरकारका प्राथमिकताहरू अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्न यो भ्रमण महत्त्वपूर्ण अवसर हुने उल्लेख गरे।
महासभामा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले गरेको अपूरणीय क्षतिको स्मरण गराउँदै नेपाल जलवायु संकटको अग्रपंक्तिमा रहेको पुष्टि भएको उल्लेख गरिने उनले बताए। त्यस्तै फण्ड फर रेस्पोन्डिङ टु लस एण्ड ड्यामेज लगायतका निकायहरूबाट तत्काल उचित क्षतिपूर्ति तथा सहायता पाउनुपर्ने ‘जलवायु न्याय’को माग समेत गरिने सचिव राईले जानकारी दिए।
जलवायु उत्थानशील पूर्वाधार, स्मार्ट कृषि र सरोकारवालाको क्षमता विकासका लागि विकसित देशहरूसँग सहज र सहुलियतपूर्ण जलवायु वित्त तथा प्रविधि हस्तान्तरणको अपिल गरिने समेत मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *