प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार उनीहरूबीच भेटवार्ता भएको हो। विदेशी राजदूतहरूसँग व्यक्तिगत भेटघाट नगर्ने पूर्वअडानबाट पछि हट्दै प्रधानमन्त्री शाहले सरकार बनेको चार महिनापछि राजदूतसँग एक्लाएक्लै भेटेका हुन्। प्रधानमन्त्री कार्यालयका अनुसार भेटवार्ताका क्रममा नेपाल–भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ।
भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाए। प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिएका थिए। प्रधानमन्त्री शाहले चिनियाँ राजदूत चाङ माओमिङसँग पनि भेट गर्दै छन्। शाहले दुई साताअघि नै उनीहरूलाई भेट्ने योजना बनाए पनि सुनसरी र अन्य जिल्लामा भएका हिंसात्मक घटनाका कारण भेटघाट पछि धकेलिएको हो।
छिमेकी मुलुकका राजदूतहरूलाई एकै दिन भेट्ने निर्णयले नेपालका लागि दुवै मुलुकको समान महत्त्व रहेको सन्देश दिन खोजिएको देखिन्छ। विदेशी कूटनीतिज्ञहरूसँग व्यक्तिगत भेटघाट नगर्ने अडानबीच शाहले एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डालाई भेटेका थिए। मासातो तीनदिने भ्रमणका लागि २२ असारमा नेपाल आएका थिए। प्रधानमन्त्री शाहले सुरुमा राजदूतहरूसँग मात्र नभई भ्रमणमा आउने वरिष्ठ विदेशी अधिकारीहरूसँग पनि एक्लाएक्लै भेट नगर्ने अडान राखेका थिए।
You may also like
-
सरकारलाई रास्वपा सांसदको प्रश्न- ‘खाली सिलिन्डर बोकेर कहिलेसम्म लाइनमा बस्नुपर्ने हो ?’
-
सरकारी आदेशको कारण देखाउँदै काठमाडौँ विश्वविद्यालयद्वारा तिब्बतसम्बन्धी आइएटीएस सम्मेलन रद्द, नेपाल सरकारको अस्वीकार
-
निउरो टिप्दै, तरकारी फलाउँदै : कक्षाकोठाबाहिर पनि व्यावहारिक शिक्षा
-
लगातारको सुक्खा पहिरोले तातोपानी भन्सार असुरक्षित
-
यो आम रूपमा मुख थुन्ने प्रयास जस्तै देखिन्छ’ नेपालको स्वतन्त्र प्रेसमाथि बालेन्द्र शाहको प्रहार
