कृष्णभीर पहिरोले काठमाडौंमा ग्यास आपूर्ति प्रभावित, व्यावसायिक प्रयोजनकर्ताले आफैं सिलिन्डर लगेर भर्नुपर्ने

त्रिशूलीमा आएको बाढीले गरेको सडक कटानका कारण धादिङको कृष्णभीरमा पहिरो जाँदा काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासलगायत अत्यावश्यक वस्तुको अभाव देखिन थालेको छ । काठमाडौं प्रवेश गर्ने मुख्य सडक पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा आइतबार पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा काठमाडौं उपत्यकातर्फ आउने ग्यास तथा पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन बीच बाटोमै रोकिएका छन् । जसका कारण उपत्यकामा ग्यास आपूर्ति प्रभावित भएको छ ।

यसैबीच नेपाल आयल निगमले उद्योगीहरूलाई ग्यास बिक्री वितरणमा घरायसी प्रयोगकर्तालाई प्राथमिकता दिन आग्रह गरेको छ । बुधबार निगमले ग्यास उद्योगी, विक्रेतासँग छलफल गरी बिक्री वितरणलाई सहज बनाउन आग्रह गरेको हो । साथै निगमले व्यावसायिक प्रयोगकर्तालाई भने आफैं ग्यास भर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ । निगमका अनुसार उनीहरूलाई उपत्यकाबाहिर रहेका क्षेत्रमा रहेका ग्यास बोटलिङ प्लान्ट पुगेर भर्नुपर्ने छ ।

अब होटेल, रेस्टुराँलगायतका ठूलो परिमाणमा खपत गर्ने हेटौंडा, वीरगन्ज,बारा, पर्सा, चितवन, मकवानपुर र नवलपरासीलगायतका क्षेत्रमा रहेका बोटलिङ प्लान्ट पुगेर खालि ग्यास भरेर ल्याउनुपर्नेछ । ‘काठमाडौं उपत्यकामा दैनिक ३५ देखि ४० हजार सिलिन्डर आवश्यक हुन्छ । काठमाडौंमा २२ उद्योगले ग्यास बोटलिङ गरेर आपूर्ति गर्दै आएका छन् । सडक भत्किएपछि बुलेट आउन नसक्दा १८ उद्योगले पनि अरु उद्योगसँग समन्वय गरेर काठमाडौंमा ग्यास आपूर्ति गर्नुपर्छ,’ निगमका प्रवक्ता मनोज ठाकुरले बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *