विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सुरु

विराटनगर संविधान जारी भएको एक दशक पुग्न लाग्दा पनि सिंहदरबारले एकल तथा साझा अधिकार हस्तान्तरण नगरेर प्रदेश संरचनालाई पंगु बनाएको भन्दै प्रदेशका मुख्यमन्त्रीहरू संघीय सरकारविरुद्ध खनिएका छन् ।
कोशी प्रदेशको राजधानी विराटनगरमा मंगलबार आयोजित ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन’मा सहभागी मुख्यमन्त्रीहरूले संघीय सरकारको केन्द्रीकृत मानसिकता, दलका शीर्ष नेताहरूको उदासीनता र प्रदेशविरुद्ध फैलाइएको ‘सेतो हात्ती’को भाष्यविरुद्ध कडा आक्रोश पोखेका हुन् ।
कम्प्युटरको ‘माउस’ थिचेर संयुक्त रूपमा उद्घाटन गरिएको दुईदिने सम्मेलनमा मुख्यमन्त्रीहरूले प्रदेशलाई अधिकार र कानुन नदिई परिणाम मात्र खोज्ने प्रवृत्तिको विरोध गरे ।
उनीहरूले बजेटको ठूलो हिस्सा संघमै थुपारेर प्रदेशको चालु खर्च ४–५ प्रतिशतमा सीमित रहँदा पनि ‘प्रदेश खर्चिलो भयो’ भनेर दुष्प्रचार गरिएको तथ्यसहित खण्डन गरे । सम्मेलनपछि अधिकार प्राप्तिका लागि सातै प्रदेशका मुख्यमन्त्रीहरू एकजुट भएर प्रधानमन्त्रीसमक्ष निर्णायक डेलिगेसन जाने घोषणासमेत गरिएको छ ।
आयोजक कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीयताको वास्तविक पहिचान र मूल खम्बा प्रदेश संरचना नै भएको बताए ।
स्थानीय तहको अभ्यास ७०–८० वर्ष पुरानो र केन्द्र सरकारको इतिहास झन्डै तीन सय वर्ष लामो रहेको स्मरण गराउँदै उनले संघीयतासँगै जन्मिएको नयाँ संरचना प्रदेश मात्रै भएकाले संघीयताको सफलता प्रदेशकै प्रभावकारितामा निर्भर रहने स्पष्ट पारे ।
प्रदेशलाई ‘सेतो हात्ती’ भनेर भइरहेको दुष्प्रचारको खण्डन गर्दै उनले तथ्य प्रस्तुत गरे । मुलुकको कुल चालु खर्चमध्ये ९५ प्रतिशतभन्दा बढी हिस्सा संघ र स्थानीय तहको रहेको र सातवटै प्रदेशको हिस्सा केवल ४ दशमलव केही प्रतिशत मात्र रहेको उनले बताए ।
‘९५ प्रतिशत खर्च अन्यत्र हुने तर बदनामी जति प्रदेशले खेप्नुपर्ने विडम्बना छ,’ उनले भने ।
संविधानमा प्रदेशका अधिकारहरू ‘कलर ब्लाइन्ड’ जस्तै अस्पष्ट रहेकाले आगामी संविधान संशोधनमा अधिकार क्षेत्र द्विविधारहित बनाउनुपर्ने उनको माग थियो ।
२०७५ सालदेखि नै निजामती, प्रहरी, शिक्षा र स्वास्थ्य ऐनका माग थन्किएको भन्दै उनले अब गुनासो मात्र नगरी सातै प्रदेशका मुख्यमन्त्री र प्रशासनिक नेतृत्व काठमाडौँ गएर प्रधानमन्त्रीसँग निर्णायक वार्ता गर्ने बताए । उनले जलवायु संकट र गाउँगाउँसम्म फैलिएको लागूऔषध दुव्र्यसनलाई साझा राष्ट्रिय विपद्का रूपमा सम्बोधन गर्नुपर्नेमा समेत जोड दिए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुख्य राजनीतिक दलका शीर्ष नेतृत्व र प्रधानमन्त्रीहरू संघीयता कार्यान्वयनप्रति इमानदार नदेखिएको गम्भीर आरोप लगाए ।
नेपाली कांग्रेस, नेकपा एमाले वा माओवादी केन्द्र जुनसुकै दलको नेतृत्वमा सरकार बने पनि संघीयताप्रति कसैले अपनत्व र बफादारिता नदेखाएको उनको टिप्पणी थियो । तत्कालीन विद्रोह शान्त पार्न मात्र संविधानमा संघीयता लेखिएको हो कि भन्ने भान अहिलेको व्यवहारले देखाएको उनले बताए ।
‘हामीलाई अधिकारविहीन बनाएर परिणाम खोजिएको छ । खुट्टा बाँधिदिएर दौड भन्दा दौडिन नसक्नु स्वाभाविक हो,’ पाण्डेले आक्रोश पोखे, ‘अनि उल्टै ’नाच्न जान्दैन आँगन टेढो’ भन्दै प्रधानमन्त्रीहरूबाटै टिप्पणी सुन्नुपर्ने विडम्बना छ ।’ २०८० असारमा पोखरामा तत्कालीन प्रधानमन्त्रीको उपस्थितिमा बुझाइएका १७ बुँदे साझा मागमध्ये १६ वटा बुँदा अहिलेसम्म कार्यान्वयन नभएको उनले सार्वजनिक गरे ।
प्रहरी समायोजन, निजामती सेवा ऐन नबनाउने र २०२८ सालको शिक्षा ऐन, २०१२ सालको प्रहरी ऐन तथा २०४९ सालको वन ऐन देखाएर प्रदेशलाई बाँधेर राखिएको उनको भनाइ थियो ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांक पेस गर्दै उनले कुल प्रशासनिक खर्चमा संघको ५०।४७ प्रतिशत, स्थानीय तहको ४४।८४ प्रतिशत र प्रदेशको केवल ४।६९ प्रतिशत हिस्सा रहेको स्पष्ट पारे ।
प्रदेशमा सचिवहरूको छिटो–छिटो सरुवा गरेर ‘धान खाने ठाउँ’ बनाइएको भन्दै उनले संघ सरकार अधिकार दिन तयार नहुने र प्रदेशले गाली मात्र खाइरहनुपर्ने हो भने संघीय व्यवस्थाबारे नै ‘पुनर्विचार’ गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशले कुनै नयाँ वा अतिरिक्त अधिकार नमागेको, संविधानले व्यवस्था गरेका एकल तथा साझा सूचीका अधिकार मात्र कार्यान्वयन खोजेको बताए । विगत ९ वर्षदेखि निरन्तर आवाज उठाउँदा पनि संघीय सरकारले त्यसलाई नजरअन्दाज गरिरहेको उनको आरोप थियो ।
संविधान बनेको यतिका वर्ष बित्दा पनि प्रदेश मातहत प्रहरी नआउनु र संघीय निजामती ऐन जारी नहुनु विडम्बनापूर्ण रहेको उनले बताए । बल्लतल्ल संसद्मा दर्ता भएको निजामती विधेयकले कर्मचारीमा उत्साह भर्नुको साटो अन्योल र आतंक सिर्जना गरी मनोबल गिराएको उनले टिप्पणी गरे ।
शिक्षा र वन ऐनका कारण प्रदेश हात बाँधेर बस्नुपरेको उल्लेख गर्दै आचार्यले भने, ‘विद्यालय तह स्थानीय तह र विश्वविद्यालय संघ मातहत छन्, प्रदेशसँग एउटा विद्यालय समायोजन गर्ने वा शिक्षक खटाउने अधिकारसमेत छैन ।’
वन ऐन विकासको बाधक बनेको र वित्तीय हस्तान्तरणलाई संघले संकुचित बनाउँदै लगेको भन्दै उनले पोखरा र हेटौँडा भेलाका निष्कर्षलाई संघले बेवास्ता गरेकोमा असन्तुष्टि जनाए ।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशहरू आफैँमा सबल नभएसम्म संघीयता सफल हुन नसक्ने भन्दै केन्द्र सरकारसमक्ष साझा दबाब सिर्जना गर्नुपर्नेमा जोड दिए ।
‘हामी अधिकार माग्न मात्र आएका होइनौँ, जिम्मेवारी बहन गर्न पनि पूर्ण रूपमा तयार छौँ,’ उनले भने ।
प्रदेश प्रहरी ऐन बनेको पाँच वर्ष बितिसक्दा पनि संघले समायोजन प्रक्रिया रोकेर राखेकोमा उनले आपत्ति जनाए । संघले आफूखुसी प्रदेशमा सचिव पठाउने अभ्यासले प्रादेशिक स्वायत्ततामा प्रहार गरेको र समानान्तर संरचना खडा गर्न नहुने उनको भनाइ थियो ।
वित्तीय संघीयताका सवालमा आगामी वर्ष ३ करोडभन्दा साना आयोजना संघले रोक्ने निर्णयको पुनर्विचार हुनुपर्ने, ट्राफिक जरिवानाको रकम प्रदेश सञ्चित कोषमा आउनुपर्ने, रोयल्टी समयमै दिनुपर्ने र ६ अर्बभन्दा माथिका परियोजना स्वीकृति प्रदेश लगानी प्राधिकरणबाटै हुनुपर्ने माग उनले अघि सारे ।
उनले मधेशलाई कृषि हब बनाउने, सिमरालाई अन्तरप्रदेश हवाई हब र जनकपुर–लुम्बिनी जोड्ने पर्यटन सर्किट तथा बाढी–डुबान नियन्त्रणमा साझा नदी प्रणाली सञ्जाल बनाउनुपर्ने प्रस्ताव गरे ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संघीयताको वास्तविक मर्म राजनीतिक, प्रशासनिक शक्ति र स्रोतलाई नागरिकको घरदैलोसम्म पुर्‍याउनु रहेको बताए ।
‘सिंहदरबारमा रहेको अधिकारलाई प्रदेशको राजधानीमा सार्नु मात्र संघीयता होइन,’ उनले भने, ‘नागरिकको पहुँच बढाउनु र शासनलाई उत्तरदायी बनाउनु संघीयता हो ।’
संविधानको परिकल्पना र कार्यान्वयनबीच ठूलो खाडल रहेको औँल्याउँदै उनले अधिकार क्षेत्रको अस्पष्टता र संघसँगको समन्वय अभावले प्रदेशको संस्थागत क्षमता खुम्चिएको बताए । एकअर्कालाई दोषारोपण गर्नुभन्दा संवैधानिक जिम्मेवारी पूरा गर्नुपर्नेमा उनको जोड थियो ।
जलवायु संकट देशकै साझा चुनौती भएको भन्दै उनले सातै प्रदेशको सहभागितामा ‘एकीकृत अन्तरप्रदेश विपद् व्यवस्थापन तथा राहत कोष’ स्थापना गर्न प्रस्ताव गरे । नदीको बाढी र वातावरणीय संकट कुनै एक प्रदेशको सीमामा सीमित नरहने भएकाले जलवायुमैत्री पूर्वाधार, नदी बेसिनमा पूर्वसूचना प्रणाली र विपद् कोष निर्माणमा अन्तरप्रदेशीय सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले संघीयताको मुख्य अंग प्रदेश संरचना भएकाले यसको सुदृढीकरणका लागि अन्तरप्रदेश सम्बन्ध र सहकार्य बलियो हुनुपर्ने धारणा राखे ।
संविधान कार्यान्वयनको दशक पुग्न लाग्दा पनि जनअपेक्षाअनुसार काम हुन नसक्दा संघीयताविरोधी भ्रमहरू सिर्जना हुन थालेको भन्दै उनले प्रदेशले गरेका उपलब्धि र नागरिकको जीवनस्तरमा आएको परिवर्तनलाई तथ्यका आधारमा जनतासमक्ष लैजानुपर्ने बताए । भौगोलिक विकटता र विगतदेखिको उपेक्षा खेप्दै आएको कर्णालीले प्रशासनिक तथा वित्तीय अधिकार नपाउँदा सम्भावना हुँदाहुँदै पनि काम गर्न नसकेको उनको गुनासो थियो । जलस्रोत, जडीबुटी, कृषि र पर्यटनको धनी कर्णालीलाई कानुन र अधिकार अभावले बाँधेर राखिएको उनले बताए ।
सम्मेलनमा अवधारणापत्र प्रस्तुत गर्दै कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले प्रदेशहरूबीच कृषि मूल्य शृंखला, बहुप्रादेशिक पर्यटन सर्किट, कनेक्टिभिटी, विपद् प्रतिकार्य संयन्त्र र नवप्रवर्तनमा सहकार्य गर्नुपर्ने प्रस्ताव गरे । यस्तै, सम्मेलनलाई वार्षिक औपचारिकतामा मात्र सीमित नराखी स्थायी संयन्त्रका रूपमा ‘अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मञ्च’ गठन गर्नुपर्ने धारणा अघि सारे ।
विराटनगर भेलाले संविधानप्रदत्त अधिकार, प्रहरी समायोजन, निजामती ऐन, वन तथा शिक्षा ऐन संशोधन र वित्तीय संघीयतालाई प्रभावकारी बनाउन ठोस मागसहितको ‘साझा घोषणापत्र’ जारी गर्ने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *