एनपीएलका सर्वोत्कृष्ट खेलाडी ढकाललाई सम्मापनत

हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा चितवन राईनोजका देव्रे हाते तीव्र गतिका बलर हेटौंडाका रिजन ढकाललाई हेटौंडा उपमहानगरपालिकाले एक लाख रुपैयाँ सम्मानसहित दोसल्ला ओढाएर सम्मान गरेको छ ।
हेटौंडा उपमहानगरपालिका–२ का ढकाल एनपीएलको तेस्रो संस्करणमा सर्वोत्कृष्ट नेपाली खेलाडी, सर्वाधिक विकेट लिने नेपाली बलर र समग्रमा सर्वाधिक विकेट लिने बलर बन्दै ढकालले क्रमशः कार, मोटरसाइकल र २ लाख रुपैयाँ हात पारेका थिए ।
एनपीएलको तेस्रो संस्करणको सर्वोत्कृष्ट खेलाडी घोषित भएकाले हेटौंडा उपमहानगरपालिकाले सोमबार एक समारोहबीच नगदसहित सम्मान गरेको हो । सर्वोत्कृष्ट खेलाडी ढकाललाई सम्मान गर्दै उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले रिजन ढकालले हेटौंडा उपमहानगरपालिकाको शान बढाएको बताइन् । हेटौंडा उपमहानगरपालिकाले क्रिकेटलगायत विभिन्न खेल क्षेत्रमा लगानी गर्दै आएको पनि जानकारी गराइन् ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँलगायत वडाध्यक्षहरुको उपस्थिति रहेको थियो । २७ वर्षीय ढकाल आफ्नो उपमहानगरपालिकाबाट सम्मान पाउँदा भावुक बनेका थिए । प्रतियोगितामा उत्कृष्ट नेपाली खेलाडी घोषित भएका रिजनले सर्वाधिक विकेटकर्ताको गोल्डेन क्यापसमेत जितेका उनले प्रतियोगिताभर उत्कृष्ट बलिङ गर्दै कुल १७ विकेट लिएका थिए।
सर्वाधिक विकेटकर्ताको अवार्डसँगै उनले २ लाख रुपैयाँ पुरस्कार पाए। यस्तै उत्कृष्ट नेपाली खेलाडी बनेबापत उनले ओमोडाको कार हात पारे । उनी उत्कृष्ट बलर बन्दै बाइक पनि पाए। यसरी रिजनले व्यक्तिगत दुई अवार्डसँगै ठूलो पुरस्कार हात पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *