भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पशुपतिनाथ मन्दिरको प्रसादस्वरूप रुद्राक्ष, शालिग्राम र चन्दन उपहार दिएका छन्।
सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भएको द्विपक्षीय भेटवार्ताका क्रममा बालेनले मोदीलाई नेपालमा तीन धार्मिक सामग्री उपहारस्वरुप दिएका हुन् । तीनैवटा सामग्री विशेषतस् सनातनी हिन्दु धर्मावलम्बीले पूजा गर्दै आएका छन्।
दुई प्रधानमन्त्रीबीच उपहार आदानप्रदानका क्रममा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई गंगाजलसहितको सामग्री उपहारमा दिएका छन्।
बालेनले दिएको उपहारमा रुद्राक्ष, शालिग्राम र चन्दन हिन्दु धार्मिक तथा सांस्कृतिक परम्परामा विशेष महत्व राख्छन्। पशुपतिनाथ मन्दिरसँग जोडिएको प्रसादका रूपमा दिइएको यो उपहारले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई पनि प्रतिबिम्बित गरेको छ।
त्यस्तै, मोदीले बालेनलाई गंगाजल उपहार दिएका छन्। गंगाजल हिन्दु धर्मावलम्बीका लागि पवित्र मानिन्छ।
नेपालका कयौँ धर्मावलम्बी गंगामा गएर स्नान गर्ने गर्छन्। हरिद्वार, बनारससहितका स्थानमा पुगेर तथा कुम्भमेलाका बेला पनि नेपालीले स्नान गर्छन्।
दुवै प्रधानमन्त्रीले गरेको उपहार आदानप्रदानलाई सांस्कृतिक र धार्मिक सम्बन्धको प्रतीकका रूपमा हेरिएको छ।
