भोटेकोशीको बाढी मिसिएर उर्लिएको त्रिशूलीको बाढीले क्षतिग्रस्त गोरखाको घ्याल्चोक र धादिङको चरौदी जोड्ने वादीको झोलुङ्गे पुल मर्मतपछि बुधबारदेखि सञ्चालनमा आएको छ । पुल सञ्चालनमा आएसँगै घ्याल्चोकका स्थानीयलाई पृथ्वीराजमार्गसम्म आउजाउ गर्न सहज भएको छ ।
गोरखाको गण्डकी गाउँपालिका–७ घ्याल्चोक र धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ चरौदी जोड्ने पुल मर्मत भएसँगै बुधबारदेखि आवतजावत सुरु भएको घ्याल्चोकका स्थानीय रमेश नेपालले बताए । ‘असोज ३ गतेबाट काम सुरु भएको थियो, आज मर्मत सकियो,’ उनले भने, ‘आजबाट मान्छे हिँड्न सुरु भइसक्यो । वारि र पारि मुखमा पुराना सामग्री छन्, त्यो हटाएर बेलुकीबाट बाइक पनि तार्ने तयारी भइरहेको छ ।’
पुल मर्मतमा पुरानै लट्ठा प्रयोग गरिएको छ भने डेक, साइडका बार र नटहरू नयाँ राखिएको नेपालले बताए । ‘असोज ३ बाट काम सुरु भएको हो, बेरिएको लट्ठा फुकाउनै १० दिन लाग्यो । अहिले लट्ठाबाहेक सबै सामान नयाँ हालेर पुलमा आवतजावत नै सुरु भएको छ,’ उनले भने ।
दसैंको मुखमा पुल सञ्चालनमा आएपछि स्थानीय खुसी भएका छन् । पुल मर्मत सम्पन्न भएसँगै घ्याल्चोकका बासिन्दालाई पृथ्वीराजमार्गसम्म पुग्न सहज हुने गण्डकी गाउँपालिका–७ का वडाध्यक्ष तुलसी रेग्मीले बताए । पुल सञ्चालनमा आएपछि घ्याल्चोकका माझटार, चैनपुर, छापगाउँ र तेर्सेलगायतका बासिन्दालाई आवतजावतमा सहज भएको उनको भनाइ छ ।
सस्पेन्सन ब्रिज डिभिजन कार्यालय ललितपुरले पुल मर्मत गरेको हो । भदौ १० को भोटेकोशी बाढीले त्रिशूली नदीमा रहेको गण्डकी गाउँपालिका–७ इटार र धादिङको चौकीटार तथा सहिद लखन गाउँपालिका–३ सिलिङटार जोड्ने झोलुङ्गे पुल पनि बाढीले क्षतिग्रस्त बनाएको छ । ती दुई पुलको भने मर्मत भएको छैन ।
