चौथो अन्तर्राष्ट्रिय मुख स्वास्थ्य सम्मेलन सुरु

काठमाडौँ चौथो अन्तर्राष्ट्रिय मुख स्वास्थ्य सम्मेलन काठमाडौँ सुरु भएको छ । सम्मेलनमा मुख स्वास्थ्यको सबलीकरण, मुख स्वास्थ्यको नीति, आगामी रणनीति लगायतका विषयमा छलफल भइरहेको छ ।
सम्मेलनको उद्घाटन गर्दै नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष सगुन पौडेलले समग्र स्वास्थ्यमा दन्त स्वास्थ्यकर्मीहरूको योगदान महत्त्वपूर्ण रहेको भन्दै आगामी दिनमा पेसागत संघ–संस्थाहरूसँगको सहकार्यलाई अझ मजबुत बनाइने बताए । परिषद्लाई केवल दर्ता र नवीकरणमा मात्र सीमित नराखी स्वास्थ्यकर्मीहरूको पेसागत हकहित र सुरक्षा सुनिश्चित गर्ने अभिभावकीय निकायका रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरे ।
पौडेलले नयाँ भिजन र योजनासहित युवा नेतृत्वमा परिषद् अघि बढेको बताए । उनले परिषद्ले अब निगरानी र खबरदारी मात्र नगरी स्वास्थ्यकर्मीहरूले निर्बाध रूपमा काम गर्ने वातावरण बनाउन पूर्ण सहजीकरण गर्ने स्पष्ट पारे ।
स्वास्थ्य क्षेत्रमा विद्यमान ऐन, नियम र कोड अफ एथिक्सलाई समयसापेक्ष परिमार्जन गर्दै कार्यान्वयनमा ल्याइने उनको भनाइ छ । उनले प्राविधिक तथा कानुनी रूपमा देखिएका जटिलताहरूलाई सरोकारवालाहरूसँगै बसेर छलफलमार्फत समाधान गरिने बताए । पौडेलले भने, ‘स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि र सीप हस्तान्तरणका लागि निरन्तर पेसागत विकास कार्यक्रमलाई औपचारिक रूपमा परिषद्को दायराभित्र ल्याएर सबै गतिविधिहरूको ट्र्याक रेकर्ड राखिने योजना बनाएका छौँ । स्वास्थ्यकर्मीहरूका समस्या र सुझावलाई प्रत्यक्ष रूपमा सुन्नका लागि डिजिटल माध्यमबाट ‘हेलो एनएचपिसी’को सुरुआत समेत भइसकेको छ ।’
उनले परिषद्लाई प्रविधिमैत्री बनाउन लागिएको बताए । ऐन–कानुनले स्वास्थ्यकर्मीलाई अप्ठ्यारो पार्ने नभई उनीहरूलाई प्रोत्साहन गर्ने नीति परिषद्ले लिने बताए ।
यस्तै, डेन्टल साईन्स हाइजेनिष्ट एसोसियसन नेपालका अध्यक्ष माइकल देवकोटाले दन्त स्वास्थ्यकर्मीहरूको पेशागत अधिकार र स्वास्थ्य नीतिमा सुधारको माग गरे । उनले ५ वर्षअघि उठाइएको टुथपेस्टको गुणस्तर सम्बन्धी मुद्दा हाल अनुसन्धानले पुष्टि गरेको भन्दै गुणस्तरहीन र अखाद्य पेस्टहरूलाई बहिष्कार गर्न आह्वान गरे । गाउँ–गाउँ र सीमान्तकृत चेपाङ, मुसहर तथा राउटे बस्तीसम्म पुगेर मुख स्वास्थ्य सम्बन्धी सचेतना फैलाएको चर्चा गर्दै उनले जनस्वास्थ्य सुरक्षाका लागि सरकारले कडाइका साथ नियमन गर्नुपर्नेमा जोड दिए । उनले नेपाल स्वास्थ्य व्यवसायी परिषद्को वर्तमान संरचना र कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै बोर्डको तत्काल पुनर्गठन गर्न माग गरे । करिब ४ हजार दर्तावाला दन्त स्वास्थ्यकर्मीहरूको परिषद्मा उचित प्रतिनिधित्व हुन नसक्दा नीति निर्माण र फाइल स्वीकृतिमा गम्भीर बाधा पुगेको उनको भनाइ थियो ।
दन्त स्वास्थ्यकर्मीहरूले कार्यस्थलमा भोग्नुपरेको समस्या उजागर गर्दै देवकोटाले अनुगमनका नाममा हुने अभद्र व्यवहार र मानसिक तनावको विरोध गर्नुभयो। कानुन र अदालतले स्वास्थ्य व्यवसायी परिषद् ऐन अनुसार दन्त हाइजिनिस्टहरूलाई उपचारका २६ वटा कार्य गर्ने स्पष्ट अधिकार दिएको स्मरण गराए ।
उनले अधिकार प्रयोग गर्दा हुने अवरोध सह्य नहुने स्पष्ट पारे । मेडिकल काउन्सिल र नेपाल स्वास्थ्य व्यवसायी परिषद्बीचको अधिकार क्षेत्रको अन्योल अन्त्य गर्न तथा विगतमा स्वास्थ्य मन्त्रालयसँग भएका सहमतिहरू तत्काल कार्यान्वयन गर्न माग गरे ।
नयाँ प्रविधि र सामग्रीबारे डाक्टरहरूलाई मात्र नभई हाइजिनिस्टहरूलाई पनि तालिम र जानकारी दिनुपर्ने उनको भनाइ थियो । कम्पनीहरूसँगको सहकार्य र केही परोपकारी सहयोगमार्फत देशका दुर्गम तथा पहुँचविहीन बस्तीहरूमा निरन्तर ओरल हेल्थ कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *