भोटेकोशी बाढीपीडितका लागि सहयोग गर्न सरकारको अपिल

काठमाडौँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा दीर्घकालीन पुनस्स्थापनाका लागि आर्थिक सहयोग गर्न सर्वसाधारणमा अपिल गरेको छ ।
कार्यालयका अनुसार बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ ।
बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायत जिल्लाका नदी तटीय क्षेत्र प्रभावित बनेका छन् । बाढीपछि सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहतका कार्यलाई तीव्रता दिएको जनाएको छ ।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण संकलन गर्ने काम जारी रहेको कार्यालयले जनाएको छ ।
सरकारले विपद्बाट प्रभावित नागरिकलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गर्नुका साथै दीर्घकालीन रूपमा पुनस्स्थापना गर्नुपर्ने आवश्यकता औँल्याएको छ । त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिदिन सबैमा आग्रह गरिएको छ ।
कार्यालयले सामाजिक सञ्जालमार्फत जारी गरेको अपिलमा उल्लेखित बैंक खातामा आफ्नो क्षमताअनुसार सहयोग गर्न अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *