काठमाडौँ नेपाल र भारत सीमामा कडाइ गर्ने सहमति भएको छ । नेपाल र भारतबिच सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यदल (जेडब्लुजी)को बैठकले सो निर्णय गरेको हो ।
कार्यदलको १४ औँ बैठक भारतको देहरादूनमा भदौ ४ र ५ गते बसेको थियो । दुवै देशका नागरिकहरूको सीमा पार आवागमनलाई सहज बनाउने, तेस्रो मुलुकका नागरिकको निगरानीमा कडाइ गर्ने, विपद् व्यवस्थापन र जिल्लास्तरीय समन्वय बैठकहरूलाई प्रभावकारी बनाउने निर्णय बैठकले गरेको गृह मन्त्रालयले जनाएको छ ।
सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभी जस्ता आधुनिक प्रविधिको प्रयोगबाट सुरक्षा निगरानी बढाउन पनि दुवै पक्ष सहमति भएको जानकारी मन्त्रालयले दिएको छ ।
यसैगरी, दशगजा क्षेत्रको अतिक्रमण र अनाधिकृत प्रयोग नियन्त्रण, एकीकृत जाँच चौकीको पूर्ण सञ्चालन र उपयोग एवम् पारस्परिक कानुनी सहायताका विषयमा पनि छलफल भएको जनाइएको छ । नेपाली पक्षले साइबर अपराध र सीमा पार डिजिटल ठगीलगायतका नयाँ सुरक्षा चुनौतीका विषयहरू उठाएको छ।
बैठकमा सन् २०२५ मा नेपालको पोखरामा सम्पन्न १३ औँ बैठकका निर्णयहरूको कार्यान्वयनबारे समीक्षा गर्दै सीमा पार अपराध, लागूऔषध, प्रतिबन्धित औषधि, वन्यजन्तु तथा मानव बेचबिखन, जाली नोट र हातहतियार तस्करी नियन्त्रण गर्न सम्बद्ध निकायबिच तत्काल सूचना आदान प्रदान कार्यलाई सुदृढ बनाउने विषयमा पनि छलफल भएको छ ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले गरेका थिए भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारतको गृह मन्त्रालयकी सहसचिव श्रीमती पौसुमी बासुले गरेकी थिइन् ।
