काठमाडौँ बाजुराका नौ स्थानीय तहमध्ये दुई पालिकाले १० शय्याका आधारभूत अस्पताल सञ्चालनमा ल्याएका छन् । पर्याप्त जनशक्ति र औषधि उपकरणको अभावका बीच पनि जिल्लाको जगन्नाथ र गौमुल गाउँपालिकाले अस्पताल सञ्चालनमा ल्याएका हुन् ।
गौमुल गाउँपालिकाले भदौ ३ गतेदेखि अस्पताल सञ्चालन गरेको हो । जगन्नाथ गाउँपालिकाले २०८० चैतदेखि अस्पताल सञ्चालन गर्दै आएको छ । स्वास्थ्य सेवाबाट पछाडि परेका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले देशभर २०७७ सालमा ‘एक स्थानीय तह, एक अस्पताल’ निर्माणको योजना अघि सारेको थियो ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर शाहीका अनुसार अस्पताल सञ्चालन भए पनि केही जनशक्ति र उपकरणको अभाव छ । उनका अनुसार २०८२ चैतदेखि एक मेडिकल अधिकृतको पद रिक्त रहेकाले गाउँपालिकाले तत्काल विज्ञापन गर्ने निर्णय गरेको छ ।
गौमुल गाउँपालिकाले १० शय्याको आधारभूत अस्पताल निर्माण सम्पन्न भएको करिब डेढ वर्षपछि सञ्चालनमा ल्याएको हो । गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बुधबार अस्पतालको औपचारिक उद्घाटन गर्दै सेवा सुरु गरेका हुन् ।
अस्पतालमा मेडिकल अधिकृतसहित २२ जना कर्मचारी रहने व्यवस्था गरिएको छ ।
गाउँपालिकाकी उपाध्यक्ष सीता थापाले अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीले आफ्नै पालिकामा स्वास्थ्य सेवा पाउने वातावरण बनेको बताए । यसअघि सामान्य स्वास्थ्य चौकीबाट उपलब्ध हुने सीमित सेवामा निर्भर स्थानीयवासीले अब थप स्वास्थ्य सेवा आफ्नै पालिकाबाट पाउने अपेक्षा गरेका छन् ।
जिल्लाका दुई गाउँपालिकाले आधारभूत अस्पताल निर्माण गरी सञ्चालनमा ल्याए पनि अन्य पालिकाले भने अझै सञ्चालनमा ल्याउन सकेका छैनन् । जिल्ला सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिकाले वडा नं ७ चुथीमा १० शय्याको अस्पताल निर्माण सम्पन्न गरी सञ्चालनको तयारी गरिरहेको नगरप्रमुख अमरबहादुर खड्काले बताए ।
त्यस्तै, बुढीगङ्गामा १५ शय्याको अस्पताल निर्माणको काम पाँच वर्षदेखि अलपत्र छ भने अन्य पालिकामा पनि अस्पताल निर्माणाधीन अवस्थामा छन् ।
